Logo

‘समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रम’



Spread the love

२ असार, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने लक्ष्य लिएको दाबी गरेका छन् ।

अध्यक्ष प्रचण्डले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको बताए ।

प्रचण्डले दुई पार्टीबीचको एकता सिद्धान्तहिन ढङ्गले नभएको पनि बताए । “जनताको जनवादी कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासको नयाँ प्रगतितिर लैजाने बडो प्रस्ट लक्ष्यका साथ पार्टी एकता गरिएको छ,” अध्यक्ष दाहालले भने, “कतिपय मानिसहरू त्यो लक्ष्यलाई राम्रोसँग नबुझेर कन्फ्युज पनि हुन सक्छन्, तर हाम्रो पार्टीको दुवैधारका नेताहरूले सर्वसम्मतिले तयार पारी पार्टी सचिवालय र स्थायी समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवाद दुवैका सकारात्मक पक्षलाई अघि बढाउँदै लैजाने उल्लेख गरिएको छ ।”

अध्यक्ष दाहालले आजको युग सुहाउने गरी पार्टीको सिद्धान्तलाई परिमार्जन र विकसित गर्दै लैजानुपर्ने पनि दोहोर्याएका छन् । अध्यक्ष दाहालले दुई पार्टीबीचको एकताबाट ऐतिहासिक र असाधारण कामको सुरुवात भएको दोहोर्याउदै निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

जनयुद्धकालका सहिद रितबहादुर खड्काको १७ औँ स्मृतिको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले शहीदहरूको सपनालाई साकार पार्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको दाबी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्