Logo

मौन आवाजका तीन कविता



Spread the love

पिता लोक बहादुर बलामी र माता पञ्चमाया बलामीको सुपुत्रको रुपमा चन्द्रागिरी नगरपालिका-४ थानकोट, काठमाडौंमा जन्मिएका मौन आवाजको यो शताब्दीमा म पनि छु (कविता संग्रह- ०६१) प्रकाशित छ । चिहान मासिक – सम्पादक (गोरखा), सुन्दर गोरेटो – प्रधान सम्पादक (गोरखा), प्रतिबिम्ब मासिक – प्रधान सम्पादक (काठमाडौं) साथै बलामी आवाज (काठमाडौं) – प्रधान सम्पादकको जिम्मेवारी वहन गरिरहेका मौन वृहत कविता प्रतियोगता दोस्रो २०५६ (गोरखा) बाट समेत पुरस्कृत भइसकेका छन् । मूलतः कविता लेखनमा सक्रिय मौनसँग हामीले समकालीन साहित्य वृत्तको बारेमा कुराकानी गरेका छौं ।

प्रस्तुत छ, सल्लेरी कोलाजका लागि कवि मौन आवाजसँग सल्लेरी खबरका राजु झल्लु प्रसादले गरेको साहित्यिक चर्चाको संक्षिप्त अंश:

राजु- एक्लोपन कत्तिको प्रिय लाग्छ ? एक्लै हुँदा रंगमञ्च बृहत हुन्छ, आफूमात्रै देखिन्छ । आफैलाई नै खोजिन्छ । अरुको निम्ति पुर्णतः अगोचर र अदृश्य । कविता सृजन गरिरँहदा आफैसँग टड्कारो स्वरले कत्तिको कुरा गर्नुहुन्छ ? र, फेरि कविताले कोलाहल गर्नु जरुरी कि शान्त रही बस्न ? तपाईंको लागि कविता के हो ? आत्मसंवाद कि स्वैच्छिक स्वैर कल्पना ? या अर्थोक नै केही ?

मौन- एक्लोपन जीवनको सहज उपलब्धता होइन । मानिसहरु सभ्यताको लामो चक्र/दुष्चक्रहरुबाट यहाँसम्म त्यति सजिलै आइपुगेका होइनन् । यो विश्व-ब्रम्हाण्डमा विचरण गरिरहेका अस्तित्वगत सारा तत्व, पदार्थ – आत्माहरु अनन्त कालदेखि एक्लै छन् ।

नदी एक्लै बगिरहेको छ । पृथ्वी एक्लै घुमिरहेको छ । सूर्य एक्लै उदाइरहेको छ/अस्ताइरहेको छ । दीर्घकालदेखि पहाड एक्लै उभिरहेको छ । बाटो एक्लै हिँडिरहेको छ । भञ्ज्याङ र/देउरालीहरु एक्लै एक्लै टोलाई बसेका छन् ।

सामान्यतः एक्लोपन विरानोपन हो । एक्लोपन ज्यादै खतरनाक विषय हो । एक्लोपन साझा विषय होइन । त्यसकारण, यो विषय प्रिय विषय होइन ।

तैपनि, मलाई एक्लोपन प्रिय लाग्छ ।

जहाँ तपाईं आफ्नै पखेटाले उड्नु हुन्छ

जहाँ तपाईं हृदयगत मनन् गर्नुहुन्छ

जहाँ तपाईं आफूलाई भेटाउनु हुन्छ-त्यो एक्लोपन हो ।

चिहानमा/घाटमा/प्रेममा या आफ्ना अन्तिम ईच्छाहरुमा जतिखेर आफूलाई एक्लै भेटाउनु हुन्छ तब तपाईं स्वतन्त्र हुन सक्नुहुन्छ । अनि बल्ल तपाईंको अस्तित्वको जन्म हुन्छ । अनि, शुरू हुन्छ सह-अस्तित्वको यात्रा ।

जुनदिन सह-अस्तित्वको थालनी हुन्छ, त्यही दिन ज्ञान/विज्ञान, धर्म/राजनीति, कला-साहित्य तथा सम्पूर्ण जगतमा प्रेमको, भातृत्वको जग बस्छ । त्यसैले, मलाई एक्लोपन प्रिय लाग्छ ।

मेरा लागि कविता एउटा अमूर्त मन्त्र हो । यसको उच्चारणले म व्युतिन्छु । र वरपर हेर्छु- भर्खरै चराहरु उडेर गएका छन् । सायद त्यसैले चुपचाप कविता लेख्छु । र, प्रतीक्षा गर्छु- चराहरु आफ्नै गुँडमा आउँन् । नाचुन् । गाउँन् ।

राजु- “टुप्पोबाट लेखिएको छ नेपाली ईतिहास, जसले सीमान्तकृतलाई समेट्न सकेन, इतिहास निष्ठुर छ “, भन्ने गरिन्छ । तपाईं लामो समयदेखि कविता साधानामा लागिरहनु भएको छ । दिग्गज, अग्रजदेखि समकालीन कविहरुसम्म आइपुग्दा नेपाली साहित्य यसबारे कत्तिको इमानदार देख्नुहुन्छ ? नेपाली साहित्य नेपाली समाजप्रती साच्चै निष्ठुर छ र ?

मौन- नेपाली इतिहास नेपाल जतिकै पुरानो र वैभवशाली छैन । किनकी, हाम्रो इतिहास हामीले ठीकढंगले लेख्न र पढ्न पाएनौं । व्यवस्था परिवर्तनको क्रममा समुदाय, भाषा, संस्कृति र/ परम्पराहरुको विकास हुन सकेन । नेपाली साहित्यको पृष्ठभूमिमा अनेक अवरोधहरु रहे । तापनि, अग्रजहरुको निरन्तरको साधनाबाट नेपाली साहित्य यहाँसम्म आइपुगेकोमा कुनै दुविधा छैन ।

नेपाली समाजको मौलिक चरित्र, वर्गीय चिन्तनहरुको परस्पर टकराव र राजनैतिक प्रणालीहरुको फेरबदलमा लामो समय हामीले बितायौं । स्थिर र स्थापित आदर्श या मानक अस्त्रसहित राष्ट्र निर्माणमा हाम्रो ध्यान केन्द्रित हुन सकेन । परम्परागत शिल्प, निहीत विशेषता र उपलब्ध स्रोत साधनहरुको यथोचित परिचालनद्वारा हामीले सामाजिक विधान र साहित्य रच्न सकेनौं । उपनिवेशवादी, हस्तक्षेपकारी, परनिर्भर अर्थतन्त्रको उपजको रुपमा हाम्रो मनोविज्ञान र चिन्तन प्रणाली प्रभावित हुँदै आयो । शासकीय वृतबाट समाज रुपान्तरणको अठोट व्यक्त हुन सकेन । जाती, भाषा समुदाय, संस्कृति, वर्ग, लिंगको आत्मसम्मान र पहिचान कायम गर्ने सवालमा नेपाली राजनीति प्राय असफल रह्यो ।

फलस्वरुप- हरेक आन्दोलनको जगबाट केवल भ्रष्ट नेताहरु मात्रै जन्मे । र तिनीहरुको अन्धभक्त भएर हामीहरु जन्म्यौं । अधिकतर कवि-साहित्यकारहरु लाभको लोभमा विभाजित भयौं । नेताहरुको घोषणापत्रको पछि लाग्यौं । दल विशेषको नारा लेख्यौँ, घोक्यौं । फरक-फरक रंगले रंगियौं । मूल अभिभारा बिर्सियौं ।

जमिनबाट उखेलिएको मान्छेले माटोको सुगन्ध लेख्न सक्दैन । यहीँनेर हाम्रो मौलिकता नष्ट भयो । हाईव्रिड विचारको खेती व्यापक फस्टायो । आधुनिक हुने नाममा हाम्रो साहित्य कुरुप भयो । सीमान्तकृतहरुको आवाजलाई हामीले बोक्न सकेनौं । त्यो सामर्थ्य क्रमशः हामीले गुमायौं ।

परिणामतः हाम्रो साहित्य हाम्रो मनबाट आएन । हाम्रो पनबाट आएन । हामीले साहित्यमा हाम्रो संस्कृतिलाई, लोकजीवनलाई मुखरित गर्न सकेनौं ।

एक हदसम्म नेपाली साहित्यले नेपाली समाजलाई मुर्ख बनाएको साँचो हो । फेरि पनि, नेपाली साहित्यको उन्नयन र विकासमा अग्रज पुस्ताले दिएको आयु र समर्पणका लागि हामीले अभिनन्दन गर्नैपर्छ । र आजका हामीले अखण्डित सपना र समय आउने पुस्तालाई सकुशल हस्तान्तरण गर्नैपर्छ ।

राजु- कविता सुत्र हो कि व्याख्या ? कवितामा बिम्बात्मक संयोजन र अभिव्यञ्जनामूलक कथ्य कत्तिको आवश्यक हुन्छ ? समकालीन कविहरु कपोकल्पित संसार, इन्द्रेणी, क्षितिज, जुनतारा जस्ता कुराहरुमा घुँडा धसेर लागिपरेका देख्छौं । यो कत्तिको निको लाग्छ ? कविताले समेट्न सक्ने उत्तरोत्तर बौद्धिक कहाँसम्मको हो ?

मौन- कविता- दुःखको आदिम गीत हो । ढुङ्गे युगमा ओडारमा बसेर पुर्खाहरूले आगो आव्हान गर्दा कविता जप्नुभयो । निरवता र निशब्दताको कठिन मोडमा गर्भवती आमाहरुले उज्यालो जन्माउन कविताको आराधना गर्नु भयो ।समयको कालजयी प्रवाहमा कहिले कविता विचारको बाटो हिँड्यो । कहिले दर्शनको बाटो हिँड्यो, कहिले प्रकृति र मानवताको बाटो हिँड्यो । कहिले मान्छेको कुण्ठा र विक्षिप्त मनोदशाबाट हिँड्यो । तर हिँड्यो । हिंडिरह्यो ।

मध्ययुगले अनकन्टार जंगलमा अथाह पीडाका कविताहरु छरेर गयो । दुई विश्वयुद्ध, असंख्य भूकम्प, बाढी, पहिरो र अनवरत प्राकृतिक शंकटहरुमा मान्छेहरुले कवितामा शान्ति र साहस खोजे । जनयुद्ध या जनआन्दोलनहरुमा मुक्ति या भ्रमका थुप्रै कविताहरु जंगल र सडकमा देखिए/हराए ।

आउने दिनहरुमा पनि आशा र निराशाको दोसाँधमा कविता हिँड्नेछ । कविता सृष्टिको अन्त्यहीन यात्रा हो । कवितालाई सूत्रहरुले जन्माउन सक्दैन । कविताको व्याख्या हुँदैन । कथित समालोचनाको परिभाषाभित्र कविता कैद हुन सक्दैन । कविताको बौद्धिकता निरक्षरता भित्र सुरक्षित रहन्छ । किनकी, कविता बौद्धिक विलास मात्र होइन । त्यो भन्दा पर पनि हो ।

समकालीन कवि पुस्ताले कवितामा कुनै स्तुति होइन, पुर्खाको स्मृति र भविष्यको समृद्धि लेख्नुपर्छ । आजको प्रस्तावना र आवश्यकता यही नै हो । कविता युगीन जिम्मेवारी हो । किनकी कविता दुःखको आदिम गीत हो ।

०००

प्रस्तुत छ, मौन आवाजका तीन कविताः

पहिलो कविता

आऊ हामी सम्भोग गरौं 

ए मुर्ख आइमाई !

 

ट्वाल्ल परेर नबस

संसार आफ्नै सुरमा कुदिरहेको छ ।

 

– उसको आफ्नै वेग छ

– उसको आफ्नै वेद छ ।

 

यसो गरौं

आऊ ओछ्यान मिलाउँ !

 

हावामा हावासँग हावा हुँदै

आगोमा आगोसँग आगो हुँदै

ग्रामीण बस्तीको चौतारी

देवालय-शौचालय भत्काउँदै जोसुकै हिँडोस् ।

 

जोसुकै हिँडोस् –

बहुरंगी नाराका उत्तेजनाहरु फलाक्दै

 

आऊ-

हामी यो एकान्तमा निर्विचार-निर्वस्त्र उभिउँ !

 

ए निरक्षर आइमाई !

 

– कूटनीतिको कुनै स्पष्ट भाषा हुँदैन ।

– राजनीतिको कुनै प्रष्ट व्याकरण हुँदैन ।

 

आऊ –

तन्ना ओछ्याउँ !

 

हिंस्रक विचारको अघिपछि पछिअघि गरिरहन

हामीसँग फुर्सद नै कहाँ छ र ?

 

हामी त-

यो युगको अन्तिम जोडी हौं ।

 

हामीसँग-

गर्भाशयमैं मरेका शिशुहरु छन्

वृद्ध पृथ्वी

रोगी सभ्यता

र / प्रशस्त अपूरणीय क्षतिहरु छन् ।

 

हामीसँग-

कुहिएका फूल

डढेका सपना

र / प्रशस्त अवर्णनीय पीडाहरू छन् ।

 

हामीसँग-

फुटेका आँखा

भाँचिएका खुट्टा

छिनालिएका टाउका

र / टुक्राटुक्रा शरिरहरु छन् ।

 

– हामीसँग एउटा अर्थहीन उपस्थिति छ

– हामीसँग एउटा अर्थपूर्ण अनुपस्थिति छ !

 

हामीलाई-

आकाशका अवशेषहरु बटुल्दै

निर्माण गर्नु छैन अर्को आकाश

तारापुञ्जहरुमा नियोजित प्रकाश छरेर

थप्नु छैन अर्को तारा ।

 

बितेर गएको इतिहासको छातीमा लेख्नु छैन –

स्थगित समयको आदिम कथा !

 

हामी त-

नदीका अविरल सन्तानहरू हौं ।

 

किनारामा जीवन पर्खेर किनारा मैं खरानी हुनु –

हामीलाई किमार्थ स्वीकार्य छैन ।

 

मत्स्य-जुनीको काल्पनिक पोखरीमा

लास जस्तो तैरिएर कति छचल्किनू ?

 

हामीलाई पुग्नुछ सत्यको- शान्त चिहान !

 

ए दिग्भ्रमित स्त्री !

 

आऊ-

यो आदिम जंगलमा कामदेवको प्रार्थना गरौं

आऊ-

तिम्रो सनातन योनीको अनुष्ठान गरौं

आऊ-

मेरो प्राचीन लिंगको आराधना गरौं ।

 

ए लाटी !

यो भीडले कुल्चेर गएको बहुल पाइतालाहरुमा

कति बाटाहरु पुरिएका छन् ?

 

– कति यात्राहरु पुरिएका छन् ?

– कति यात्रीहरु पुरिएका छन् ?

 

अंकहरुको अन्तिम गन्तव्य शून्यता हो

आऊ-

मौनताको अनन्त गहिराइमा समाधिस्थ हौं !

 

आऊ-

हामी नसुने जस्तो गरौं

आऊ-

हामी नदेखे जस्तो गरौं

आऊ-

हामी नबोले जस्तो गरौं

आऊ-

हामी नभए जस्तो गरौं ।

 

यो ब्रम्हाण्डमा अस्तित्वका असंख्य विरोधाभासहरु छन्

– असंख्य ईश्वरहरु छन्

– असंख्य धर्म र / व्याख्याहरु छन्

– असंख्य वाद र / सिद्धान्तहरु छन्

– असंख्य भ्रम र / रहस्यहरु छन् ।

 

आऊ-

दिन बिर्सेर आऊ

आऊ-

रात बिर्सेर आऊ

आऊ-

सम्पूर्ण आगत / विगत र / जगत बिर्सेर आऊ ।

 

ए पतित नारी !

 

आऊ-

यो पतित पुरुषको अंगालोमा आऊ

– जिब्रो चाटौं

– कान टोकौं

– शरीरमाथि शरीर घिसारौं ।

 

हामी ठीक त्यसरी नै स्खलित होउँ

जसरी –

ईश्वर आफ्नो धर्मबाट स्खलित हुन्छ

जसरी –

प्रकृति आफ्नो नियमबाट स्खलित हुन्छ

जसरी –

सरकारहरु आफ्नो दायित्वबाट स्खलित हुन्छन् !

 

ए पवित्र नारी !

– आऊ हामी सम्भोग गरौं !

दोस्रो कविता

दोबाटोको गहिरो शुन्यता

जंगलबाट फर्किरहेका चराहरुका गीतहरुलाई

दोबाटोमा भेटें !

 

सुकेका पातका मैला जड्यौरी ओडेर

सहरतिर

आफन्तहरु खोज्न हिंडेका

आदिवासी रुखका जराहरुलाई पनि –

दोबाटोमा भेटें !

 

गाउँकी फुलमायाको बैंश सापटी मागेर

बेतोड कुदिरहेको हुरीलाई पनि –

दोबाटोमै भेटें !

 

दीर्घ रोगको उपचार गर्न हिंडेको पहाडलाई

सुत्केरी नदीलाई

कुपोषणग्रस्त गाउँ-बस्तीहरुलाई

दोबाटोमै भेटें !

 

युगभरीका अनगिन्ती विधवा आइमाईहरुलाई

अनाथ बालबालिकाहरुलाई

वृद्ध / वृदाहरुलाई –

दोबाटोमा भेटें !

 

परलोकबाट घर खोज्दै आएका

मृत आत्माहरुलाई पनि –

दोबाटोमा भेटें !

 

आकाशतिर हेर्दै बसेका घामकिरीहरुका स – साना आँखाहरु

र / तिनका साहासी उडानहरु

वर्षातमा हिलाम्य दहहरुबाट पुच्छर हल्लाइरहेका

चेपागाँडाहरु

अनौठो रसायन बाल्दै रात – रातभर घिस्रीरहेका जंगली गड्यौलाहरु

गर्भवती मृग

र / भोको बाघलाई पनि दोबाटोमा भेटें !

 

अर्काकी स्वास्नी झ्यालबाट भगाएर

केहि क्षण –

स्खलित हुन आएका पतित पुरुषहरु

रोगी लोग्नेलाई कोठामा थुनेर

गुप्तांग कन्याउँन निस्केका भद्र महिलाहरुलाई पनि –

दोबाटोमै भेटें !

 

कुखुरा चोरहरुलाई –

रंगेहात प्वाँख सहित

 

गँजेडीहरुलाई –

एकपोका गाँजा सहित

 

खुँखार लुटेराहरुलाई –

पेस्तोल सहित

 

प्रेमीहरुलाई –

अनन्त प्रेम सहित

दोबाटोमै भेटें !

 

लास जलाएर फर्केका मलामीहरुलाई

नाच्दै हिंडेका – जन्तीहरुलाई

दोबाटोमै भेटें !

 

पुजारी

र / नामुद वेश्यालाई पनि –

दोबाटोमै भेटें

 

मुद्दा मामिलाहरुबाट फर्केका तनावग्रस्त मान्छेहरू

कामबाट फर्केका मजदुरहरु

कमिसन खाइ आएका दलालहरु

चामल बोकि आएका गृहिणीहरु

स्कुलबाट फर्कंदै गरेका विद्यार्थीहरु

र / देश बेचेर आएका नेताहरुलाई पनि –

दोबाटोमै भेटें !

 

ईश्वर जस्तो – हिंसा

अक्षर जस्तो – रगत

विचार जस्तो – हतियार

 

चुपचाप –

जीवनको गहिरो शुन्यता बोकेर हिंडेका

जो / जति भेटें दोबाटोमा –

ती सबै मेरै अनुहारहरु थिए !

 

बिल्कुल – दिशाहिन

बिल्कुल – भ्रमित

बिल्कुल – शाश्वत !

 

मैले –

आफैलाई दोबाटोमा भेटें !

तेस्रो कविता

आधा 

जिन्दगीको मध्यान्तरमा उठेर

नुहाउनुछ

आधा टाउको

र पखाल्नुछ सम्पुर्ण स्मृतिहरु !

 

हृदयको प्लेटफर्मबाट छुटी गएका

आत्मीय पाइतालाहरुको बिदाइमा

झार्नुछ

आँसुका असंख्य बर्खाहरु !

 

समयको बिसौनीमा मौन उभिएर

हेर्नुछ आधा जुन

आधा घाम

र संगाल्नुछ सिंगै ब्रम्हाण्ड !

 

आधा टेक्नुछ प्रेमको बाटो

आधा तर्नुछ सम्बन्धको नदी

आधा उफ्रिनु छ

आधा खुम्चिनु छ ।

 

फर्केर नआउनेहरु पर्खेर

आधा रुनु छ

आधा हाँस्नु छ ।

 

पहाड जस्तै उभिएर

प्रकोपको हिउँ ओढ्नु छ !

 

बहेर गएका बतासका सुगन्धहरु

झरेर गएका पहेंला पातहरु

वितेर गएका दिन र रातहरु

हालेर सिरानीमुनि एक्लै सुक्सुकाउनु छ ।

 

बिरानो बस्तीको गल्ली हुँदै

पीडाको अन्तिम सीमासम्म

ओहो दोहोर गर्नुछ

बोकेर आधा अनुहार

अर्को आधा अनुहार खोज्नुछ ।

 

अबेर हुनुपुर्व

तिमीले अपुरो छोडेको

आधा गीत गाउनुछ !

 

आधा झ्यालको आधा प्वालबाट

आधा बाहिरिनुछ

आधा खस्नुछ

आधा रहनुछ ।

 

आधा ओठको आधा मुस्कान बाँकी छँदै

तिम्रो आँखाको डिलमा रोपेर जानुछ

संसारका सबै उमंगहरु

र तिमीसँग छुटिनुछ !

 

मलाई

आधा सपनाको आधा दृश्यबाट

आधा रात मै निस्कनुछ !

 

र आधा बाटोमा आधा हिंडेर

पुरा गर्नुछ

जीवनको यात्रा !

०००

यी पनि पढ्नुहोस्ः

सुमन स्मारिकाका तीन कविता

श्रीजु सरलका तीन कविता

०००

प्रतिक्रिया दिनुहोस्