Logo

नौमती र पञ्चेबाजा संरक्षणमा जुट्दै चितवनका युवाहरु



Spread the love

५ असार, चितवन ।
विवाह व्रतबन्ध पूजालगायत शुभकार्यमा बजाउने परम्परागत नौमती र पञ्चेबाजा पछिल्लो समय लोप हुँदै गएपछि चितवनका युवाहरु यसको संरक्षणमा जुटेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–७ स्याङ्दीका आदिवासी जनजाति समुदायका १५ युवा समूह नै गठन गरी नौमती र पञ्चेबाजा संरक्षणमा जुटेका हुन् ।

विशेषगरी दलित समुदायले पछिल्लो समय नौमती पञ्चेबाजा बजाउन छाड्दै गएकाले यसको संरक्षणका लागि बाजा बजाउन शुरु गरिएको नयाँबारी साङ्केतिक समूहका अध्यक्ष रामलाल तामाङले बताए ।

तामाङले भने , “पछिल्लो समय दलित समुदायले गाउँघरमा नौमती पञ्चेबाजा बजाउन छाड्दै गएको छ, गाउँमा विवाहव्रतबन्ध पूजालगायत शुभकार्यमा बाजा बजाउने समूहको अभाव भएको छ, त्यसैले यसको अभाव परिपूर्ति गर्न र संस्कृतिको जगेर्नाका लागि हामी जुटेका हौँ ।”

एक वर्षदेखि बाजा बजाउँदै आएको समूहमा तामाङ, गुरुङ र मगर जातिका युवा रहेको अध्यक्ष तामाङले बताए । अहिले आफ्नो समूहलाई बाजा बजाउनका लागि धेरै ठाउँबाट बोलाउने हुँदा भ्याउनै मुस्किल परेको उनको भनाइ छ ।

लोप हुनलागेको पञ्चेबाजाको संरक्षणमा जुटेर नमूनाकार्य गरेको भन्दै गाउँपालिकाले पनि सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताईन । गाउँपालिकाले प्रोत्साहनका लागि समूहलाई बाजा खरीद तथा पोशाकका लागि सहयोग गर्ने अध्यक्ष गुरुङले जानकारी दिईन ।

पहिले–पहिले नेपाली समाजमा शुभविवाह, व्रतबन्ध, पूजाजस्ता शुभकार्यमा नौमती पञ्चेबाजा अनिवार्यजस्तै बजाउने गरिन्थ्यो भने दलित समुदायले पेशाका रूपमा बजाउँदै आएका थिए ।

पछिल्लो समय दलित समुदायले बजाउन छाड्दै जाँदा ती शुभकार्यमा नौमती पञ्चेबाजाको स्थान डेक र ड्रमबाजाले लिन थालेका थिए । तर पुनः नेपाली समुदायबीच शुभकार्यमा नौमती र पञ्चेबाजाको माग बढ्न थालेपछि अन्य समुदायकाले पनि यो बाजा बजाउन थालेका छन् । ( रासस )

प्रतिक्रिया दिनुहोस्