Logo

प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र



Spread the love

१० असार, काठमाडौँ ।
फलफूल तथा तरकारीमा अत्यधिक विषादी पाइन थालेपछि प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको छ ।

छोटो समयमा धेरै आम्दानी गर्ने मनसायले किसानले तरकारीमा धेरै विषादी हाल्ने गरेको भन्दै मन्त्रालयले पाँच जिल्लामा एक–एक परीक्षण मेसिन राख्ने तयारी गरेको हो । विषादी परीक्षणका लागि पाँच मेसिन बोलपत्रमार्फत खरीद गरिसकिएको प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता निर्मल गदालले जानकारी दिए ।

तरकारी तथा फलफूलमा व्यापक विषादी प्रयोग गर्ने गरेको जनगुनासोका आधारमा परीक्षण मेसिन राख्न लागिएको उनले बताए । मन्त्रालयले बोलपत्रमार्फत रु ६ करोडमा पाँच मेसिन खरीद गरेको हो । “हरेक उपभोक्ताको भान्सा विषादीरहित बनाउन यो कार्यक्रम अघि बढाइएको हो ।

यसै महीना मेसिन आउनेछ भने आगामी आर्थिक वर्षबाट परीक्षण शुरु गरिनेछ”, गेदालले भने । मन्त्रालयले चितवन, मकवानपुर, ललितपुर, काभ्रे र नुवाकोटमा तरकारीको विषादी परीक्षण केन्द्र सञ्चालनमा ल्याउनेछ । “जहाँबाट धेरै फलफूल र तरकारी भित्रन्छ, त्यहाँ मेसिन राख्ने योजना बनाएका छौँ”, उनले भने , “संरचना निर्माण नहुँदासम्म कृषि ज्ञान केन्द्रमार्फत विषादी परीक्षणको व्यवस्था मिलाइनेछ ।” यसका लागि आवश्यक प्रविधि तथा प्राविधिकको तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । तरकारी आयात, निर्यात र उत्पादन हुने मुख्य बजारलाई केन्द्रमा राखेर विषादी परीक्षण प्रयोगशाला सञ्चालमा ल्याइन लागेको प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले जानकारी दिए ।

परीक्षणपश्चात तरकारीमा मानव स्वाथ्यमा प्रतिकूल असर पार्ने विषादी प्रयोगको मात्रामा कमी आउने उनको विश्वास छ । कृषि उत्पादनलाई प्राथमिकता दिँदै आएको मन्त्रालयले उपभोक्ताको स्वास्थ्यलाई पनि ध्यानमा राखेर जैविक उत्पादनलाई जोड दिइएको मन्त्री लामाले बताए । विषादी परीक्षणको अभावमा फलफूल तथा तरकारीमार्फत विषादी खानुपर्ने बाध्यता अन्त्य हुने उनको जिकिर छ ।

उपभोक्ताबाट दैनिकरूपमा तरकारीमा विषादीको मात्रा बढेको गुनासो आउन थालेपछि विषादी परीक्षण केन्द्र सञ्चालमा ल्याउन लागिएको मन्त्री लामाले बताए । उत्पादन बढी गर्ने मनसायले तरकारी तथा फलफूलमा विषादी अत्यधिक मात्रामा प्रयोग गर्ने प्रवृत्ति किसानमा बढ्दो छ । नेपालमा वार्षिक करोडौँको विषादी आयात हुने गरेको छ । सबैभन्दा धेरै विषादी तरकारीमा खपत हुने गरेको छ । कृषकले बोट ठूलो बनाउन, फल धेरै फलाउन र लामो समयसम्म टिकाइरहन आवश्यकताभन्दा बढी मल र घातक विषादी प्रयोग गर्ने गरिएको छ । ( रासस )

 

प्रतिक्रिया दिनुहोस्