Logo

लौठ सल्लाको बिरूवा रोपण



Spread the love

१५ असार, रसुवा – क्यान्सर रोगको औषधिमा प्रयोग हुने उपयोगी मानिएको लौठसल्लाका बिरूवा उत्तरी रसुवाको गतलाङ क्षेत्रमा शनिबार रोपण गरिएको छ ।

‘एक व्यक्ति, एक बिरूवा रोपण’ अभियानलाई सार्थक पार्दै डिभिजन वन कार्यालय रसुवाको आयोजनामा आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत गतलाङगाउँको उच्च क्षेत्रमा २०० लौठसल्लाको बिरूवा रोपणकार्य सम्पन्न भएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए ।

राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारी समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रोपण गरिएको लौठसल्लाको बिरूवा संरक्षणका लागि स्थानीय समुदायलाई जिम्मा दिइएको गाउँपालिकाले जनाएको छ । रोपण गरिएको लौठसल्लाको बिरूवा हुर्किएपछि धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा मानिदै आएको पार्वती कुण्ड पुग्ने यात्रु एवं पर्यटकलाई थप मनमोहक बनाउने र पाहुनाको चहलपहल ह्वात्तै बढ्ने अपेक्षा राखिएको स्थानीयवासीले बताएका छन् ।

बिरूवा रोपणका लागि स्थानीय प्रशासक, सुरक्षा अङ्ग, स्थानीय तहका नेता तथा कार्यकर्ता, वन संरक्षण उपभोक्ता समिति, संरक्षणका लागि कार्यरत गैसस, सङ्घसंस्थासमेतको सहभागिता रहेको बताइएको छ ।

यस्तै हरियाली बढाई वातावरणको संरक्षण गर्न डिभिजन वन कार्यलय रसुवालेसरकारी निकायको परिसरमा समेत बिरूवा रोपण गर्ने कार्यलाई निरन्तरता दिएको छ । वन कार्यालयले उपलब्ध गराएको बिरूवा सहयोगबाट जिल्ला सरकारी वकिल कार्यालयको परिसरमा गत महीना मनाइएको गणतन्त्र दिवसको अवसर पारी विभिन्न प्रजातिका सयौँ बिरूवा रोपण गरी गणतान्त्रिक बगैँचा स्थापना गरिएको बताउँदै जिल्ला सरकारी वकिल बाबुराम भट्टराईले संरक्षणको कामसमेत निरन्तररूपमा भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्