Logo

५३ जनामा देखियो सिकलसेलको लक्षण



Spread the love

१९ असार, दाङ – घोराही उपमहानगरका तीन स्थानमा गरिएको रगत परीक्षणबाट ५३ जना व्यक्तिमा सिकलसेलको लक्षण देखिएको छ । यही असार १२, १५ र १६ गते वडा नं– २ को रामपुर, वडा नं– ७ को सौडियार र वडा नं– १० को नारायणपुरमा ३४३ जनामा गरिएको परीक्षणमा ५३ जनामा सिकलसेल एनिमियाको लक्षण देखिएको हो ।

रामपुर स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५५ जनाको रगत जाँच गर्दा ८ महिला र चार पुरुष गरी १२ जनामा प्रारम्भिक लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए । त्यस्तै स्वास्थ्यचौकी सौडियारमा १३१ जनाको रगत परीक्षण गर्दा १४ महिला र एक पुरुषमा सिकलसेलको लक्षण देखिएको छ ।

वडा नं– १० को स्वास्थ्यचौकी नारायणपुरमा १५७ जनाको रगत जाँच गर्दा १९ महिला र सात पुरुष गरी २६ मा सिकलसेलको लक्षण देखिएको संयोजक घर्तीको भनाइ छ । सिकलसेलको लक्षण पुरुष भन्दा धेरै महिलामा देखिएको छ । महिलाको सङ्ख्या ४१ र पुरुषको सङ्ख्या १२ रहेको छ । त्यसमा पनि २० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिमा सिकलसेलको लक्षण देखापरेको छ ।

घोराही उपमहानगर स्वास्थ्य शाखाले प्रारम्भिक जाँच गरिएको र अब तुलसीपुरको प्रादेशिक अस्पतालमा ‘इलेक्ट्रो प्रोसेस’ जाँचका लागि सिफारीश गरिने संयोजक घर्तीले जानकारी दिए । बिरामीको उपचार खर्च सबै उपमहानगरले व्यहोर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्