Logo

एक वडा एक नमूना विद्यालय बनाइने



Spread the love

२० असार, काठमाडाैँ – कैलालीको टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेट पारित गरेको छ । नगरपालिकाका उप–प्रमुख केशरी विष्टले रु ७४ करोड २९ लाख ६९३ को बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजित बजेटमध्ये चालूतर्फ रु ४२ करोड ६९ लाख ३८ हजार २६८ र पूँजीगततर्फ रु ३१ करोड ५९ लाख ६२ हजार ४२४ बजेट विनियोजन गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा नमूना सामुदायिक विद्यालय बनाउने अभियानअन्तर्गत एक वडा एक सामुदायिक विद्यालयको अवधारणा पारित गरेको छ । सोका लागि रु १० लाख विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रका लागि रु २० करोड ४६ लाख ५० हजार बजेट छुट्याइएको छ । नगरप्रमुख प्राविधिक छात्रवृत्तिका लागि रु ११ लाख, उपप्रमुख अनाथ असहाय छात्रवृत्ति कार्यक्रमका लागि रु १० लाखसमेत विनियोजन भएको छ । बाल विकास शिक्षिकालाई प्रोत्साहन गर्न रु १६ लाख ३२ हजार बजेट विनियोजन गरिएको छ ।

नगरसभामा आर्थिक वर्ष २०७६÷०७७ मा एक वडा एक कालोपत्रे सडकका लागि रु नौ करोड २७ लाख, नगरभित्रका सडकको स्तरोन्नतिका लागि रु ८० लाख, कार्यालय परिसर स्त्तरोन्नति र व्यवस्थापनका लागि रु ७५ लाख, शपिङ कम्प्लेक्स निर्माणका लागि रु ६५ लाख र सडक बत्तीका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ ।

शिक्षा विकासका लागि टीकापुर अस्पतालमा एनआईसीयू सेवा सञ्चालनका लागि रु ३८ लाख, निःशुल्क रक्त सञ्चार र सुत्केरीलाई घरदेखि निःशुल्क एम्वुलेन्समा ल्याउनका लागि रु १० लाख, सुत्केरी आमालाई पोषण (आमासंँग उपमेयर) का लागि रु १५ लाख, आयुर्वेद स्वास्थ्य कार्यक्रमका लागि रु ३४ लाख ५५ हजार र हाम्री छोरी प्यारी छोरी कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै कृषि क्षेत्रको विकास र विस्तारका लागि रु एक करोड ५९ लाख ४७ हजार ९४६ रकम छुट्याइएको छ । टीकापुर पार्क व्यवस्थापन र भैरवनाथ मन्दिरका लागि रु ५८ लाख, रोजगारमूलक उद्यमशिलता र विकास तालीमका लागि रु ७३ लाख ४७ हजार बजेट विनियोजन गरिएको छ । वेतबाँस प्रशोधन, प्रवद्र्धन बजारीकरणका लागि रु १५ लाख, सबै जातजातिको भाषा, संस्कृति, लोक साहित्य, नृत्य, गीत–सङ्गीत, मेला, पर्व, जात्रा, भाका संरक्षण र पर्यटन उद्योगका लागि रु दुई करोड ३१ लाख ३९ बजेट विनियोजन गरिएको छ ।

एक वडा एक बगैँचा कार्यक्रमका लागि रु नौ लाख र जलवायु समानुकूलित विकास योजनाका लागि रु एक करोड २९ लाख बजेट विनियोजन गरिएको छ । नगरसभाले जनतासँग मेयर, उपमेयर कार्यक्रमका लागि रु २० लाख र विभिन्न सभा समारोहका लागि रु पाँच लाख छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्