Logo

गुल्मीको मुसिकोट नगरपालिकाको ४८ करोडको बजेट, एक घर एक धारा मुख्य प्राथमिकता



Spread the love

२२ असार, गुल्मी – मुसिकोट नगरपालिकाले आउँदो आर्थिक वर्ष २०७६/७७ को लागि कुल रु. ४८ करोड ४२ लाख २३ हजारको बजेट सदनमा पारित गरेको छ। जसमा सबैभन्दा बढी सामाजिक क्षेत्रमा बजेट विनियोजन गरिएको छ भने सबैभन्दा कम विपद् व्यवस्थापनमा बजेट विनियोजन गरिएको छ।

नगरपालिकाको आन्तरिक आम्दानी १ करोड ६० लाख ६० हजार, राजश्व वाँडफाँडबाट प्राप्त हुने आम्दानी ९ करोड ९५ लाख २६ हजार, संघीय सरकारबाट वित्तिय समानीकरण अनुदान ११ करोड ४९ लाख, सशर्त अनुदान २१ करोड ८४ लाख,  प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ४३ लाख ३७ हजार, सशर्त अनुदान १ करोड १० लाख र समपुरक अनुदानबाट २ करोड रुपैया आम्दानी हुने बताइएको छ।

यस आर्थिक वर्षमा कम्तीमा ५ सय जनालाई रोजगारी दिइने, नगरपालिकाको केन्द्रसँग जोडिने सबै सडकहरु १२ महिना नै सहज बनाउने बजेटले उद्धेश्य राखेको छ। त्यसैगरी यो वर्ष कम्तीमा १ हजार जनाको घरमा “एक घर एक धारा” पुर्याउने लक्ष्य राखीएको छ। “कृषि, पर्यटन, पूर्वाधार र रोजगार: सुन्दर मुसिकोट नगरपालिका संबृद्धिको आधार” भन्ने नारालाई साकार पार्ने उद्देश्य अनुरुपको बजेट ल्याएको उपप्रमुख कमला शर्माले बताइन्।

आर्थिक विकास तर्फ २ करोड ९९ लाख ६ हजार रुपैँया बजेट छुट्ट्याइएको छ भने सामाजिक विकास तर्फ २५ करोड ७४ लाख ४२ हजार, पूर्वाधार विकास तर्फ १४ करोड ६७ लाख,  वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ करोड १० लाख तथा संस्थागत विकास तर्फ ७ करोड रकम विनियोजन गरिएको छ।

नगरपालिका भित्र रहेका मोटरबाटोहरु स्तरोन्नत्ति एवं मर्मत सम्भारका लागि कूल २ करोड ६६ लाख,  मोटरबाटा सम्भारको लागि लेन्थ वर्करहरु राख्न १ करोड तथा यो वर्ष कम्तीमा १ हजार घरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराउने गरी सम्पुरक अनुदान सहित ४ करोड बजेट विनियोजन गरिएको छ।

त्यसैगरी मुसिकोट दरबार, थुम पार्क,  छत्रभुमी मन्दिर,  ग्वादिकाचौर खेलमैदान,  ढोडेनी बगर,  मालिका मन्दिर, स्मालीथान पार्क,  सालिमेदह, देउराली मन्दिर तथा पालुदेव मन्दिर लगायतका मुसिकोट गौरबका आयोजनाका लागि संघ सित साझेदारी गर्न सकिने गरी १ करोड ८५ लाख, सार्वजानिक भवन, मर्मत सम्भार तथा निर्माणको लागि ३६ लाख, भवन निर्माणको लागि २ करोड १० लाख, खरका छाना मुक्त नगर निर्माणका लागि सम्पुरक अनुदान सहित कुल २ करोड बजेट विनियोजन गरेको नगर उपप्रमुख कमला शर्माले बताइन् ।विद्यालयमा शिक्षक दरबन्दीको लागि ४३ लाख, शिक्षाको विकासको लागि सर्शत अनुदान तर्फको समेत गरी १९ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ।

त्यसैगरी नगरपालिकालाइ पूर्ण सरसफाइ युक्त बनाउने उद्धेश्य अनुरुप प्रत्येक वडामा १ महिला सहित २ जना स्वयंसेवक खटाउने गरी ३३ लाख, स्वास्थ्य चौकीहरुको व्यवस्थापन सुधारका लागि ४ करोड ४८ लाख रुपैया छुट्टाइएको छ।

त्यस्तै खेलकुदमा ११ लाख, व्यवसायिक पशुपँक्षी तथा कृषि तर्फ १ करोड ८८ लाख , वन तथा वातावरण र विपद् व्यवस्थापन तर्फ १ करोड ३० लाख, संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन तर्फ ७ करोड खर्च गरिने भएको छ।

राजस्व लगायत विभिन्न क्षेत्रबाट नगरपालिकाले १ करोड ६० लाख ६० हजार आम्दानि गर्ने अनुमान गरिएको छ । र सो लक्ष्य भेट्टाउन करको दायरा फराकिलो बनाउँदै राजस्व चुहावट रोक्न बैंकिङ्ग प्रणाली अपनाउने नीति लिइएको छ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्