Logo

बजेटप्रति असन्तुष्टि



Spread the love

२४ असार, काठमाडाैँ – सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६÷७७ को वार्षिक राजश्व र व्ययको अनुमान (बजेट) माथिको छलफलका क्रममा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचेतक अक्कलबहादुर रावलले बजेटप्रति असन्तुष्टि राखेका छन् । उनले बजेटको मूल ध्येय सकारात्मक भए पनि सन्तुलन मिलाएर नल्याइएकाले बहस गरी सच्याउन सुझाव दिए ।

“बजेट हेर्दा पुरानो परम्परा, सोच र संस्कारलाई परिवर्तन गर्न नसकेको देखियो”, सचेतक रावलले भने । प्रदेशसभा सदस्य सुशीला बुढाथोकीले सरकारको नीति तथा कार्यक्रम राम्रो भए पनि सो बमोजिमको बजेट नआएकाले यसमा सुधार गर्न ध्यानाकर्षण गराइन् । प्रदेशसभा सदस्य महेशदत्त जोशीले आफूले टिपाएका योजना नपरेको गुनासो गरे । प्रदेशसभा सदस्य पूर्णा जोशीले बजेट असन्तुलित रहेको गुनासो गरिन् ।

प्रदेशसभा सदस्य भरतबहादुर खड्काले प्रदेशसभाका सबै सदस्यहरुलाई विश्वासमा लिएर काम गर्नुपर्ने तथा सरकारले प्रतिपक्षीसँग गरेको भद्र सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य मालामतीकुमारी रानाथारूले सरकारले बजेट बनाउँदा प्रदेशसभा सदस्यहरुको सुझाव नसमेटेको आरोप लगाइन् । छलफलमा प्रदेशसभा सदस्यहरु डिल्लीराज पन्त, कुन्ती जोशी, दुर्गाकुमारी कामी र शान्ति नेपालीले पनि भाग लिएका थिए । असार १ गते बजेट पेश भएयता प्रतिपक्षको असन्तुष्टिका कारण लगातार अवरुद्ध हुँदै आएको प्रदेशसभाको बैठक सरकार र प्रतिपक्षी दलबीच भएको भद्र सहमतिसँगै आइतबारदेखि शुरु भएको हो । अर्को बैठक असार २५ गते बिहान ८ः३० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्