Logo

रुद्रमतीमा झोलुङ्गे पुल उद्घाटन



Spread the love

५ साउन, काठमाडाैँ – रुद्रमती सफाइको २७६औँ हप्तामा रातोपुल र कालोपुलको बीच भागमा बनेको झोलुङ्गे पुल उद्घाटन गरिएको छ । प्रदेश नं ३ सरकारको रु २७ लाख २८ हजार आर्थिक सहयोगमा पुल निर्माण भएको हो ।

यहाँ पुल नहुँदा पैदलयात्रु रातोपुल अथवा कालोपुलसम्म घुमेर वारपार गर्न बाध्य हुनुपरेको थियो । पुल निर्माणपछि बिहान–बेलुका हिँड्न चाहने र पैदलयात्रा गर्ने यात्रुलाई सुविधा पुग्ने भएको छ ।

नदी सफाइसँगै आयोजित कार्यक्रममा सांसद गगनकुमार थापा र काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीले ज्ञानेश्वरपट्टिबाट र प्रदेशसभा सदस्य नरोत्तम वैद्य एवं महानगरपालिका–७ का अध्यक्ष शुद्धकुमार डङ्गोलले पनेकु टोलपट्टिको भागबाट उद्घाटन गरेका थिए ।

सांसद थापा र प्रदेशसभा सदस्य वैद्य एवं वडाध्यक्षद्वय कार्की र डङ्गोलले पुलको बीचमा पुगेर अङ्कमाल गरी नौलो तरिकाले पुल उद्घाटन गरिएको थियो । सो अवसरमा ३ नं प्रदेशसभा सदस्य राधा घले, महानगरपालिका वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठको पनि सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले आफ्नो क्षेत्रमा हिलो सडकमात्र नभई पुल बन्नेजस्ता विकास निर्माणका काम पनि भएको बताए । विकास निर्माणमा फराकिलो सोच लिएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

प्रदेशसभा सदस्य वैद्यले प्रदेश सरकारले आधा घण्टामा रु एक करोड बजेट राख्ने योजनाको नाम माग्दा आफूले वडाध्यक्षहरुसँग सल्लाह गरी पुलको योजना दिएको जानकारी दिए । राजधानीमै भए पनि रुद्रमतीको यो भागमा पुल नहुँदा स्थानीयवासीलाई वारपार गर्न समस्या हुँदै आएको थियो ।

प्रदेशसभा सदस्य घले, वडाध्यक्षत्रय कार्की, डङ्गोल र श्रेष्ठले विकास निर्माणमा सबै दल एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । सो पुलको नाम रुद्र पनेकु राखिएको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए । त्यस अवसरमा रातोपुलबाट कालोपुलसम्मको नदी किनाराको दायाँबायाँ सफाइ गरी एक ट्रक फोहर व्यवस्थापन गरिएको पनि उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्