Logo

पुलिसलाई हराउँदै ब्रिग्रेड ब्वाइज च्याम्पियन



Spread the love

५ साउन, काठमाडाैँ – ललित स्मृति कप यू–१८ च्याम्पियनशिप फुटबल प्रतियोगितामा ब्रिग्रेड ब्वाइज क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि हात पारेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज भएको फाइनल खेलमा ब्रिग्रेड ब्वाइजले विभागीय टोली पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस उपाधिसहित ब्रिगे्रड ब्वाइजले लगातार दोस्रो पटक उपाधि जितेको छ ।

ब्रिग्रेड ब्वाइजको जीतमा बृजेश चौधरीले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको २३औँ मिनेटमा गोल गरे । उपाधिसँगै ब्रिग्रेड ब्वाइजले रु तीन लाख प्राप्त गर्यो ।

त्यस्तै उपविजेता बनेको पुलिसले रु एक लाख ५० हजार पायो । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलकिपरको उपाधि आर्मीका विशाल सुनारले पाए भने उत्कृष्ट रक्षक पुलिसका विशाल बस्नेत भए ।

उत्कृष्ट मिडफिल्डर ब्रिग्रेड ब्वाइजका शिशिर लेखी, उत्कृष्ट फरवार्ड ब्रिग्रेड ब्वाइजका ब्रिजेश चौधरी तथा उत्कृष्ट प्रशिक्षक ब्रिगे्रड ब्वाइजकै सुवित कार्की घोषित भए । उत्कृष्ट घोषित हुने खेलाडी एवम् प्रशिक्षकले जनही रु दश हजार प्राप्त गरे । विजेता टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कार प्रदान गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आयोजित उक्त प्रतियोगितामा ‘ए’ डिभिजनका १४ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्