Logo

प्रयोगशाला स्थापना गर्दै पोल्ट्री महासङ्घ



Spread the love

१३ साउन, काठमाडाैँ – नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्ने भएको छ । दाना, पानी, भिटामिन लगायतमा रहेको गुणस्तर परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्न लागिएको हो ।

प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरणमध्ये दानामा ढुसीबाट उत्पादन हुने विषादीको अवस्था परीक्षण गर्ने चाम एनलाईजर उपकरण महासङ्घलाई जर्मनको एक कम्पनीले प्रदान गरेको छ । आज आयोजित एक कार्यक्रममा जर्मनको ईडब्लु न्यूट्रिसनका अन्तर्राष्ट्रिय बजार प्रबन्धक किङ्सुक चक्रवतीले महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टलाई उपकरण हस्तान्तरण गरे ।

सो उपकरणलाई नेपाली रु १६ लाख पर्ने चक्रवतीले जानकारी दिए । पोल्ट्री व्यवसायी मञ्च रहेको ठाउँमा स्थापना गर्न लागिएको प्रयोगशालामा यो उपकरण रहने विष्टले बताए । आफूले उत्पादन गरेको र खुवाउन ल्याएको दानाको परीक्षण गर्न सकिने विष्टको भनाइ छ । महासङ्घका उपाध्यक्ष टिकाराम पोखरेलले केही दिनमा कुखुराको आहारामा हुने प्रोटिन र इनर्जी परीक्षण गर्ने अर्को उपकरण पनि ल्याइने बताए ।

पक्षीसँगै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव हुने भएकाले खुवाउने दाना, पानी, भिटामिन परीक्षण गरेर मात्र खुवाउन सहयोग पुर्याउने उद्देश्यले प्रयोगशाला स्थापना गर्न लागिएको हो । नेपालमा कुखुराजन्य क्षेत्रमा रु एक खर्बभन्दा बढी लगानी भएको व्यवसायीले बताउँदै आएका छन् । जसमध्ये आधा हिस्सा चितवनमा रहेको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्