१३ साउन, सुडान – सुडानमा सोमबार भएको प्रदर्शनमा सहभागीमध्ये ५ जनाको गोली लागी मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये चार जना विद्यार्थी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा अन्य कैयौँ घाइते भएका छन् । प्रदर्शनकारीहरुले सोमबार मध्य सुडानमा प्रदर्शन गरेका थिए ।
“अल—ओबेइडमा शान्तिपूर्ण प्रदर्शन भइरहेका बेला हामी माथि गोली प्रहार भयो, गोली लागी ५ जना सहिद भए, अरु धेरै घाइते भए,” प्रदर्शनकारीहरुको तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।
गोली चलाउनु पर्ने स्पष्ट कारण अहिलेसम्म पुष्टि भएको छैन । प्रदर्शनकारीहरूको नेता र सरकारी पक्षकाबीचमा केही दिनदेखि वार्ता भइरहेका बेला यो घटना भएको हो ।
आन्दोलनकारी विभिन्न समूहहरुमध्ये केही समूहहरुसँग सरकारी पक्षले सम्झौता गरिसकेको छ भने कतिपय समूहहरुसँग वार्ता भइरहेको छ ।
उनीहरुबीचमा शक्ति बाँडफाँड गरेर वर्तमान शैन्य सरकारलाई नागरिक सरकारमा रुपान्तरण गर्ने छलफल र सहमति भएको हो ।
आन्दोलनकारीहरूमध्ये मुख्य समूहसँग सरकारी पक्षले यही जुलाई १७ तारिखका दिन सम्झौता गरेको हो ।
झण्डै तीन दशकदेखि शासन गर्दै आएका तत्कालिन राष्ट्रपति ओमर अल बसिरलाई पदच्युत गरेर सेनाले शासन हातमा लिएपनि सुडानको राजनीति अझै सङ्कटबीच अघि बढेको छ ।