Logo

कक्षा १२ काे नतिजा : कसैले ल्याएनन् ४ जीपीए



Spread the love

१४ साउन, काठमाडौँ l कक्षा १२ को अर्थात् विद्यालय तहको अन्तिम परीक्षामा सर्वोत्कृष्ट जीपीए ४.०० कसैले पनि ल्याउन सकेन । ३ हजार ६७ जना विद्यार्थीले उच्च तह ३.६१ देखि माथिको जीपीए ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार उच्च तहको अङ्क ल्याउने समूहअन्तर्गत ४ जीपीए प्राप्त गर्ने परीक्षार्थीको सङ्ख्या शून्य रहेको छ l

कक्षा १२ को वैशाखमा सञ्चालित परीक्षाको नतिजा बोर्डले सोमबार अर्थात् हिजो सार्वजनिक गरेको हो । गत वर्षमा जस्तै यसपालि मध्यमस्तरको जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या सबभन्दा बढी रहेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक शर्माले जानकारी दिए l

उनका अनुसार परीक्षामा नियमित, ग्रेड वृद्धि र आंशिकतर्फ गरी ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी थिए । गत वर्ष कक्षा ११ को परीक्षामा एक विद्यार्थीले मात्र उत्कृष्ट ४.०० जीपीए ल्याएका थिए । कक्षा १२ मा उच्च जीपीए (३.६१–४.००) ल्याउने विद्यार्थीको सङ्ख्या भने अघिल्लो वर्षको तुलनामा बढेको छ । अघिल्लो वर्ष नियमिततर्फका २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थीले परीक्षा दिएकामा उक्त समूहको जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या १ हजार १ सय ६९ जना मात्र थियो ।

यस पटक ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या १६ हजार २ सय ४ छ । ३१ हजार ६२ विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् । २.४१ देखि २.८० जीपीए ल्याउनेको सङ्ख्या ५६ हजार ५ सय ३ जना छ । २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना छन् । यो मध्यमस्तरको जीपीए हो । १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १.२१ देखि १.६० प्राप्त गर्नेको सङ्ख्या १९ हजार ५ सय ८५ छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबभन्दा कमस्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना छन् ।

राष्ट्रिय परीक्षा बोर्डले ९ वटा समूहमा ग्रेडअनुसार नतिजा सार्वजनिक गरेको हो । ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या शून्य रहेता पनि समग्रमा नतिजा सुधारोन्मुख रहेको परीक्षा नियन्त्रक शर्माले दाबी गरेका छन् । उनले भने, ‘गत वर्ष पनि कक्षा १२ मा ४ जीपीए ल्याउने विद्यार्थी थिएनन् ।’ कम जीपीए भन्दा माथिल्लो जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या उच्च रहेको शर्माको भनाइ छ ।

गत वर्ष पनि मध्यमस्तरको जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या नै अधिक थियो । ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ जना विद्यार्थीले परीक्षा लेखेका थिए । उनीहरूले केही विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिएकाले नतिजामा तथ्याङ्क समावेश गरिएको छैन । आंशिकतर्फ ४१ दशमलव ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिएका छन् ।

५७ हजार १ सय ७० परीक्षार्थीले आंशिकतर्फ परीक्षा दिएकामा २३ हजार ९ सय १५ जना उत्तीर्ण भएका हुन् । अघिल्लो वर्ष आंशिकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका थिए । साधारण धारतर्फका सबै संकाय विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, संस्कृत र प्राविधिक धारतर्फको नतिजा एकैसाथ प्रकाशित गरिएको हो ।

अर्यालले भने, ‘यस वर्षको नतिजा केही सुधारोन्मुख देखिएको छ, उल्लेख्य सुधार भने हुन सकेको छैन l तुलनात्मक समीक्षा गर्न बाँकी नै छ ।’ मुलुकभरका १ हजार १ सय ७ परीक्षा केन्द्रमा परीक्षा भएको थियो । मनाङ जिल्लाबाट सबैभन्दा थोरै १ सय १० र काठमाडौँबाट सबैभन्दा बढी १ लाख ३४ हजार १ सय १५ जनाले परीक्षा दिएका थिए । परीक्षा सकिएको ७५ औँ दिनमा बोर्डले सबै विषय र संकायको परीक्षाफल एकै दिन प्रकाशित गरेको हो ।

विगतमा संकायअनुसार छुट्टाछुट्टै दिन परीक्षाफल प्रकाशित गरिन्थ्यो । २०७५ सालको परीक्षाको नतिजा ८१ दिनमा सार्वजनिक गरिएको थियो । बोर्डले २०७४ देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार प्रकाशित गर्दै आएको छ । हिजोको नतिजाअनुसार ग्रेड वृद्धि परीक्षा दिन पाउने मापदण्ड र समय तालिका छिट्टै टुंगो लगाएर सार्वजनिक गरिने बोर्डले जनाएको छ । नियमित तर्फ ३३, ग्रेडवृद्धितर्फ ९ र आंशिकका १२ गरी कुल ५४ परीक्षार्थीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्