Logo

ओसामा विन लादेनका छोरा मारीए, टाउको मूल्य १० लाख डलर थियो



Spread the love

एजेन्सी ।  आतंकवादी  सङ्गठन ‘अल कायदा’का संस्थापक ओसामा विन लादेनका छोरा हम्जा मारिएको अमेरिकी गुप्तचर अधिकारीहरुलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

उनको मृत्यु भएको भनिएपनि मिति र स्थानबारे कुनै कुरा खुलाइएको छैन । गत फेब्रअरीमा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो भने मार्चमा साउदी अरबले उनको नागरिकता खोसेको थियो ।

करिब ३० वर्षिय हम्जा विन लादेनले विगतमा अमेरिकामाथि आक्रमणको आग्रह गर्दै भिडियो तथा अडियो मेसेज सार्वजनिक गरेका थिए । हम्जाको मृत्युको खबर सबैभन्दा पहिला एनबीसी र न्यूयोर्क टाइम्सले दिएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो विषयमा टिप्पणी गर्न बुधबार अस्वीकार गरेका छन् ।  यसैगरी बुधबार पत्रकारहरुले राष्ट्रिय सुरक्षा सल्लाहकार जोहन बोल्टनसँग जिज्ञासा राख्दा उनले पनि टिप्पणी गर्न अस्वीकार गरेका थिए । हम्जाले आफ्ना बाबु ओसामाको सन् २०११को मे मा पाकिस्तानमा गरिएको हत्याको बदला लिन आग्रह गर्दै आएका थिए ।

उनी इरानमा ‘हाउस एरेस्ट’को अवस्थामा रहेको कतिपयले अनुमान गर्दै आएका थिए भने कतिले पाकिस्तान, अफगानिस्तान वा सिरियामा रहेको हुन सक्ने जनाएका थिए ।

हम्जाले आफ्ना बाबु ओसामा बिन लादेनको हत्याको बदला लिन आग्रह गरेका थिए। ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानको एबोटाबादमा मारिएका थिए।

लादेनको उत्तराधिकारीको रुपमा हम्जा

हम्जा अलकायदा भित्र आफ्ना बाबुको उत्तराधिकारीका रुपमा उदाइरहेको ठानिन्थ्यो । सन् २०११ मा पाकिस्तानस्थित ओसामा बिन लादनेको निवासमा छापा मार्दा बरामद गरिएका दस्तावेजहरूले हम्जा बिन लादेनलाई अल कायदाको नेतृत्व सम्हाल्ने गरी उनलाई तयार पार्दै गरेको देखाएको अमेरिकी विदेश मन्त्रालयको भनाइ छ।

अमेरिकी फौजहरूले अल कायदाका अर्का वरिष्ठ नेताकी छोरीसँग उनको विवाह भएको भिडिओ फेला पारेको बताइएको थियो । उनका ससुरा अब्दुल्लाह अहमद अब्दुल्लाह अथाव अबु मुहम्मद अल–मस्रीले सन् २०१८ मा तान्जानिया र केन्यास्थित अमेरिकी दूतावासमा भएको बम हमलाहरूमा उनको संलग्नता रहेको संकेत गरेका थिए ।

अल कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्विन टावरमा हमला गरेको थियो ।

 

 

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्