Logo

शिक्षा मन्त्रीको अध्यक्षतामा ३ सदस्यीय सर्च कमिटी गठन



Spread the love

१७ साउन, काठमाडौँ l सरकारले त्रिवि सेवा आयोग अध्यक्ष र सदस्यको नियुक्तिको सिफारिस गर्न शिक्षा मन्त्रीको अध्यक्षतामा तीन सदस्यीय सर्च कमिटी गठन गरेको छ ।

गएको मङ्गलवार प्रधानमन्त्री केपी ओलीले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भौतिक शास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. विनिल अर्याल र व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्मा सदस्य रहेको कमिटी गठनको निर्णय गरेका हुन् ।

कमिटीलाई अध्यक्ष र सदस्य नियुक्तिको लागि नाम सिफारिस गर्न भनिएको छ । अध्यक्ष चैतन्य शर्माको तीन वर्षे पदावधि गत साउन ५ गते सकिए पछि आयोग रिक्त छ ।

आयोगका सदस्यहरू मध्ये लोक सेवा आयोगका तर्फबाट प्रतिनिधित्व गर्ने ब्रम्हदेव राय र चिन्तामणि पोखरेलको अवधि २०७७ साल मङ्सिर सम्म बाँकी रहे पनि प्रधानमन्त्रीको निर्णयमा सदस्यहरूको नाम समेत सिफारिस गर्न भनिएको छ ।

आयोगले प्रकाशन गरेको विज्ञापन अन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरी आफ्नो मान्छेलाई उत्तीर्ण गराई अनियमितता गरेको आरोपमा अध्यक्ष शर्मा र पोखरेल सहित आयोगका पदाधिकारी र कर्मचारी गरी १० जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विश्वविद्यालय ऐनमा निलम्बनमा परेको सदस्यको मुद्दा किनारा नलागे सम्म नयाँ नियुक्ति नहुने व्यवस्था भएता पनि प्रधानमन्त्री ओलीले सदस्यको नाम समेत सिफारिस गर्ने गरी सर्च कमिटी गठनको निर्णय गरे ।

सेवा आयोगका पदाधिकारीको राजनीतिक नियुक्ति हुने भएता पनि सदस्यका लागि विद्यावारिधि गरेको र वहालवाला प्राध्यापक नै हुनुपर्ने मापदण्ड रहेको छ ।

त्रिवि अन्तर्गत उच्च शिक्षा परियोजनाका प्रमुख शङ्कर भण्डारी, भूगर्भ शास्त्र केन्द्रीय विभाग प्रमुख लालु पौडेल, प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष यादव लामिछाने र अवकाश प्राप्त प्राध्यापक विजय सिलवाल अध्यक्षका रूपमा राजनीतिक लविङ्मा सक्रिय रहेको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्