Logo

अध्ययन गर्न नसक्ने बालबालिकाका लागि निःशुल्क पठनपाठनको व्यवस्था



Spread the love

१८ साउन, काठमाडौँ l बाल सारथी सामाजिक संस्थाले सडकमा आउन बाध्य भएका र दुःख पाएका बालबालिकाका लागि निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ ।

जयवागेश्वरीमा १ सय जना यस्ता बालबालिकाका लागि बिहानी खानासहित निःशुल्क अध्यापन व्यवस्था गरिएको हो । बाल सारथी एकेडेमीको नाममा स्थापित सो विद्यालयमा हाल कक्षा ५ सम्म गरी ५४ छात्रा र ४६ छात्र अध्ययरत छन् ।

बाल सारथीको १३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उपस्थिति जनाउँदै प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संस्थाले सडकमा भविष्य खोजिरहेका बालबालिकालाई शिक्षा दिएर उदाहरणीय काम गरेको बताउँदै प्रदेश नं. ३ सरकारका तर्फबाट विद्यालय भवन बनाउन आफूले पहल गरिदिने प्रतिबद्धता पनि उनले जनाए l

गुह्येश्वरीमा विद्यालय भवन निर्माणका लागि दाता अस्मिता सुमार्गीले एक वर्ष अघि १७ आना जग्गा किनिन् l प्रदेश सरकारको सहयोगमा गुह्येश्वरीमै विद्यालय भवन निर्माण गर्ने तयारी गरिएको छ ।

नेपाल बैक लिमिटेडबाट सेवा निवृत्त भएका पाटन ललितपुरका मदनकुमार श्रेष्ठले उपदान स्वरूप पाएका रु ५ लाख अक्षयकोषमा राखी दिए ।

अक्षयकोषको ब्याजबाट आउने रुपैयाँले विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री किनिदिने गरेको अध्यक्ष माला खरेलले जानकारी दिए l कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, नायक प्रदीप खड्का, संस्थाका अध्यक्ष खरेल लगायतले परित्यक्त भई सडकमा आउन बाध्य एवं अध्ययन गर्न नसक्ने बालबालिकाका लागि निःशुल्क पठनपाठनको व्यवस्था गरिएको बताए l

उक्त संस्थामा कक्षा पाँचसम्म मात्र अध्यापन हुन्छ । कक्षा ६ देखि पढ्नका लागि भने त्यसै क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्