Logo

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको मिति सार्वजनिक



Spread the love

१९ साउन, काठमाडौँ l कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको मिति राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । परीक्षा भदौ २२ र २३ गते बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले जनाएको छ । विद्यार्थीले २ वटा विषयमा मात्रै ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने छन् ।

परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले दिन सक्नेछन् । त्यस्तै, २ विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि भने पहिलो दिन सानो कोड नम्बर रहेको विषयको परीक्षा हुनेछ भने दोस्रो दिन ठुलो कोड नम्बर रहेको विषयको परीक्षा हुनेछ ।

परीक्षा दिने परीक्षार्थीहरूले विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई विद्यालयमार्फत भदौ ५ गतेसम्म फारम बुझाउनु पर्नेछ । त्यस्तै, परीक्षार्थीहरूले प्रति विषय ६ सयको दरले भदौ २ गते भित्रसम्म बुझाइसकेको भौचर हुनुपर्नेछ ।

फारमसँगै कक्षा १२ को ग्रेड सिटको प्रतिलिपि वेबसाइटबाट डाउनलोड गरी बुझाउनु पर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ग्रेड वृद्धिका लागि विद्याथीहरूले अन्य सबै विषयमा C+ वा सोभन्दा माथि ग्रेड आएर बाँकी दुई विषयमा मात्र C वा D+ आएमा परीक्षा दिन पाउने छन् ।

साथै, कुनै एक वा दुई विषयमा अनुपस्थित भएका विद्याथीहरूको पनि सोही दिन परीक्षा हुनेछ । परीक्षाफल रद्द भएका विद्यार्थीहरूले भने ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउने छैनन् ।

साथै शैक्षिक योग्यता प्रमाण पत्र प्राप्त गरिसकेकाहरू पनि सो परीक्षामा उपस्थित हुन पाउने छैनन् । तोकिएको केन्द्रबाट मात्रै परीक्षार्थीले परीक्षा दिनुपर्ने हुन्छ । तर राष्ट्रिय परीक्षा बोर्डले हाललाई परीक्षाको केन्द्र भने तोकेको छैन ।

प्रतिक्रिया दिनुहोस्