Logo

विद्यार्थी सङ्गठन सेलाउँदै



Spread the love

२० साउन, काठमाडौँ l विद्यार्थी सङ्गठनहरू दिनदिनै कमजोर बन्दै गएका छन् । विद्यार्थीहरूको हकहित र एजेन्डा स्थापित गर्ने उद्धेश्य लिएका विद्यार्थी सङ्गठनहरू कमजोर भएको देखिएको हो ।

विद्यार्थी सङ्गठनहरू विद्यार्थीका एजेन्डा र जनजीविकाका सवाललाई प्रमुख मुद्धाका रूपमा उठाउनु भन्दा पनि क्याम्पससँग मिलेमतो गर्दै विद्यार्थीबाट चर्को शुल्क असुल्ने गरेको पाइएको छ ।

विद्यार्थी सङ्गठनमाथि विभिन्न कलेजहरूमा नाम निकाल्दिन्छु भन्दै चर्को मात्रामा विद्यार्थीबाटै शुल्क असुल्ने गरेको आरोप छ l केही समय अघि प्रश्नपत्र आउट गर्दा विद्यार्थी नेताहरुनै पक्राउ परेका थिए ।

शुल्क बढेको वढै अहिले कक्षा ११ र १२ मा अभिभावकहरूले मनपरी शुल्क तिर्न बाध्य छन् । तर, सरकारले कक्षा १२ सम्म निःशुल्क शिक्षा भनेको छ ।

यातायातमा ४५ प्रतिशत, नारामा मात्रै सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत छुट उपलब्ध गराउनुपर्ने भनिएपनि पूर्णतः कार्यान्वयनमा आउन सकेको छैन । जसले गर्दा विद्यार्थीहरू समस्यामा परेका छन् । सो विषयमा विद्यार्थी सङ्गठन नै चुपचाप बस्ने गरेका छन् l

छात्रवृत्ति कागजमा निजी विद्यालयहरूले १० प्रतिशत छात्रवृत्ति विद्यार्थीहरूलाई दिनुपर्ने प्रावधान कागजमा सीमित छ । सो छात्रवृत्ति कतिपय विद्यालयहरूमा विद्यालय सञ्चालकका आफन्तहरूले लिएको गुनासो आउन थालेको छ ।

विद्यार्थीलाई ऋण खोइ ? विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको धितोमा ऋण प्रदान गर्ने विषय पनि थन्किएको छ । स्नातक तथा सोभन्दा माथिको शिक्षा आर्जन गर्न चाहने विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्रका आधारमा निब्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था छ । तर, विद्यार्थीहरूले सजिलैसँग पाउँदैनन् ।

मेडिकल कलेजको शुल्क असुली

केही मेडिकल कलेजहरूले एमबिबिएस अध्ययन गरी रहेका विद्यार्थीहरूबाट २० लाख रुपैयाँ बढी रकम असुल्दा पनि विद्यार्थी सङ्गठनहरूले आवाज उठाएनन् । केही समय आन्दोलन थालेता पनि निष्कर्षमा पुग्न भने सकेन । जस कारण अहिलेसम्म बढी लिएको शुल्क फिर्ता गर्न मेडिकल कलेजले आनाकानी गर्दै आएका छन् ।

केही विद्यार्थी नेताहरू नेताको निकट भएर बसेका छन् त केही विद्यार्थी नेताहरू कन्सल्टेन्सीका सञ्चालक र ठेकेदार छन् । जसले गर्दा विद्यार्थीका एजेण्डाहरु बिस्तारै सेलाउँदै गएका छन् ।

कुनै समय राजनीतिक र विद्यार्थी आन्दोलनलाई सार्थक बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका विद्यार्थी सङ्गठनहरू एजेण्डाविहीन हुँदा उनीहरू माथिनै प्रश्न उठ्न थालेको छ ।

आवश्यक परेको वेला चन्दा उठाउने र आन्दोलनलाई सम्झौतामा टुग्याउँने आरोप विद्यार्थी सङ्गठनहरूमाथि लाग्ने गरेको छ । नेविसंघका नेता कुन्दन काफ्लेका अनुसार विद्यार्थी सङ्गठनलाई पार्टीले हस्तक्षेप गर्दा अघि बढ्न सकेका छैनन् l सङ्गठन निर्माण कार्यले पूर्णता नपाएकाले विद्यार्थीका एजेण्डाहरु उठाउन नसकिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्