Logo

जाजरकोटको विद्यालयमा शिक्षकले गरे तालाबन्दी



Spread the love

२३ साउन, जाजरकोट l जाजरकोट जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका शिक्षकहरूले एक वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् ।

उनीहरूले सोमबारदेखि तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण ३ दिनदेखि विद्यालयमा पढाइ अवरुद्ध भएको छ । निजी स्रोतबाट राखिएका शिक्षक रवीन्द्र खत्री, मीना बुढा, इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन् ।

प्रधानाध्यापक हुमप्रकाश सिंहका अनुसार विद्यालयमा आम्दानीका स्रोत नभएपछि तलब उपलब्ध गराउन नसकेको हो l वडा नं ८ मा परेका सबै योजनाहरूको रकम हल्चौरदेखि राम्रासम्मको घोडेटो बाटोमा बजेट हालेर स्थानीयवासीको श्रमदान समेतमा निर्माण भएको बाटोको रकमबाट शिक्षकलाई तलब उपलब्ध गराउने विद्यालय व्यवस्थापन समितिले लिखित सहमति गरेको छ ।

योजनाको रु ६ लाख २० हजार पुरै निकासा भए पनि उपभोक्ता समितिले रु ५ लाख मात्र उपलब्ध गराएको बताइएको छ । अहिलेसम्म सोही बाटो ३ पटक निर्माण भइसकेको छ ।

विद्यालयमा शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतबाट राखिएका शिक्षकले पढाएर विद्यालय सञ्चालन हुँदै आएको छ । वर्ष दिनसम्म विद्यालयमा पढाएता पनि तलब प्राप्त नभएको भन्दै शिक्षकहरू तलब उपलब्ध नगराएसम्म ताला नखोल्ने अडानमा छन् ।

विकास निर्माणका लागि आएको रकम विद्यालयमा हालेर काम राम्रो नगरेको आरोपसमेत लागेको छ । विद्यालयको समस्या समाधान गर्न अभिभावक भेला बोलाएको प्रअ सिंहले बताएका छन् । यो भन्दा अगाडि वन उपभोक्ता समूहको रकम र अभिभावकले चन्दा उठाएर विद्यालय सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्