Logo

तीज : एक नोस्टाल्जिया



प्रज्वल अधिकारी

बेलुकाको दस बजिसकेको रहेछ । निद्राले झ्याप्प छोपेको बेला मोबाइलमा घण्टी बज्यो । मन नलागी नलागी मोबाइल हेरेँ । ममीको फोन आएको रहेछ । हेलो ममी ! भन्न नभ्याउँदै ममीले सुनाइदिनुभयो मादल, मजुरा बजाएर झ्याम झ्याम तालीको साथमा निकै फुर्तिलो आवाजमा समूहले गाएको तीज गीत-
बाबाको दैलामुनि ठुलो रुख बडर
धेरै छोरी भए पनि हेला नगर
धेरै छोरी भए पनि एकै माना खानी हो
रुँदै रुँदै पराईको घरमा जानी हो !!

पल्तिर अङ्कलको आँगनमा भेला भएर तीज गीत गाउँदै हामी । ल अहिले राखेँ ल !

रुँदै रुँदै गएर पिँडी डिलमा बसुँला
कसको मुख हेरेर भित्र पसुँला
सासूको मुख हेरूँ अघाएको बाघ झैँ
ससुराको मुख हेरूँ बल्दो आगो झैँ !!

ममीले फोन राखेपछि त्यही गीतको अरू पङ्क्ति मेरो दिमागमा आइहाल्यो । सानो छँदा म ममीको पछिपछि लागेर तीज गीत सुन्न जाने गर्दथेँ । बेलुकाको खाना खाईसकेपछि गाउँभरिका दिदीबहिनी एकैठाउँमा भेला भएर पीडाले भरिएका गीतहरू गाउने गर्दथे । असारको रोपाइँमा पानीको निहुँमा झगडा परेका छिमेकीहरू, घरको चुल्हो, चौकोमा झगडा परेका देउरानी, जेठानीहरू, धनको फुर्तीले बिहेपछि नमिलेका दिदीबहिनीहरू पनि तीज आएपछि मिलेर नाच्थेँ, गाउँथे र रमाइलो गर्दथे ।

भर्खर भर्खर बिजुली आएको बेला थियो मेरो गाउँमा । पिँडीमा ठुलो वाटको बत्ती बालेर आँगन झलमल्ल पारेर आमा, दिदी, बहिनीहरू आँगनमा गुन्द्री ओच्छ्याएर निकै मीठा तीज गीतहरू गाउने गर्दथे । खासमा म भने गीत सुन्न भन्दा पनि लट्टे या नुन खुर्सानीमा चोबेर काँक्रो खान पाउने लोभले ममीसँग जाने गर्दथेँ । मेरै उमेरका केटा साथीहरू पनि उनीहरूको आमाको पछि लागेर आउने गर्दथे ।

केही आमाहरूले “तीज गीतमा छोरा मान्छे आउनु हुँदैन !” भन्थे भने कसैले “ल भोलि बाट नआउ है !” भन्थे । कोही भने “रत्यौली हो र आउन नहुने !” भन्दै हामीलाई नजिकै राख्थे ।

सानो मादल, मुजुरा लिएर भेला भएका आमाहरू पालैपालो गीतहरू गाउने गर्दथे र स्वतःस्फूर्त उठेर नाच्ने गर्दथे । धेरैजसो आमा, दिदी, बहिनीहरू सिरान घरे काइँली ठुलीआमाकोमा भेला हुन्थे, कहिले पुछार घरे कान्छी हजुरआमाकोमा त कहिले भोर्लने साईलाबा (पल्तिर अङ्कलकोमा) भेला हुन्थे । किनकि, ती घरहरूमा अरू घरमा भन्दा ठुलो आँगन थिए ।

के लेखौँ र कसरी लेखौँ भइरहेको छ यति बेला । विगतको स्मरणले दिमाग र हृदय एकै चोटि भरिएपछि केही नलेखौँ र मात्रै सम्झेर बसूँ जस्तो हुँदो रहेछ ।

याद आइरहेछ, कहिलेकाहीँ ममीले लिएर नगएको दिन बुबाले मलाई फकाउन पनि तीज गीत नै गाउने गर्नुहुन्थ्यो-

तीजको बेलामा मैले लट्टे खाइन
तिम्री आमा लुतुरी लिन आइन !!

तीनवटी छोरी पाएर अन्तिममा एउटा छोरो पाएको भएर आफ्नो पीडा बाआमालाई सुनाउन हो कि किन हो कुन्नि उनले गीत झिक्ने पालो आउने बित्तिकै यो गीत गाइहाल्थिन् र आज पनि उनैको आवाज चर्को आइरहेको थियो ।

अँ साँच्चि ! अघि ममीले फोनमा पल्तिर अङ्कलकोमा गीत गाउँदै हामी भनेर जुन गीत सुनाउनु भयो, त्यो गीत पहिला त्यसै घरकी ठुली छोरीले खुब गाउने गर्दथिन् । तीनवटी छोरी पाएर अन्तिममा एउटा छोरो पाएको भएर आफ्नो पीडा बाआमालाई सुनाउन हो कि किन हो कुन्नि उनले गीत झिक्ने पालो आउने बित्तिकै यो गीत गाइहाल्थिन् र आज पनि उनैको आवाज चर्को आइरहेको थियो । बिहे गरेर माइत आएपछि पनि उनले यही गीत किन गाइन् सोचिरहेछु ।

मेरो दिमागमा विभिन्न गीतहरू अहिले तँछाडमछाड गर्दै आइरहेका छन्-

लह लह बढ्यौ छोरी मलिनाको तामा झैँ
तिमी बस्न पाउँदिनौ जुगै भरी यहीँ !!

पुछार घरे हजुरआमाको एकदमै मन पर्ने गीत थियो यो । वहाँले आफ्नो पालोमा आफ्नी छोरी तिर फर्केर यो गीत गाउनु हुन्थ्यो र अरू दिदीबहिनीले पनि उनै तिर फर्केर मजाक गर्थे, उडाउँथे र भन्थे-

“ल है नानी, आमाले धेरै दिन राख्नुहोला जस्तो लागेन !”

अरू रमाइरहेका हुन्थे भने ती दिदीको अनुहार निन्याउरो हुन्थ्यो ।

धेरै जसो मादल बजाउने जिम्मा मेरो आन्टीलाई पर्दथ्यो । वहाँ सुस्तरी गीत गाउँदै मादल बजाउँदै गर्नुहुन्थ्यो । जब वहाँको गीत झिक्ने पालो आउँथ्यो-

लिपिमा लापी बाबाको आँगनी
छिड्केरी मारी खेलौला
छिड्केरी मारी खेल्ने चेलीको
शिरैमा छैन शिर फुल !!

आन्टी किन सधैँ यही गीत गाउने गर्नुहुन्थ्यो र आँखाभरि आँसु बनाउनुहुन्थ्यो, मलाई आजसम्म थाहा छैन ।

साझा शिर फुल म लाउने छैन
हिरा मोती जडिदेऊ
हिरा मोती जडाउँदा खेरिमा
बाबालाई ऋण लाग्छ नि हो !!

आन्टी यही गीत गाउनुहुन्थ्यो र हलुका भएको महसुस गर्दै मुसुक्क मुस्काउनुहुन्थ्यो ।

मेरो ममी नाच्न जान्ने भएकोले वहाँ अलि धेरै नाच्दै गाउँदै गर्ने गर्नुहुन्थ्यो । वहाँको पनि एउटा गीत थियो-

बढी आयो नाउदी पाउँदी म कसरी तरुँला
धुरु धुरु नरोउ आमा आउँदै गरुँला
भन्नू हुन्थ्यो बाबाले मर्स्याङ्दी तार्दिन
ल्याउने लाने गर्दै गर्छु माया मार्दिन
भन्दा भन्दै बाबाले मर्स्याङ्दी तार्नुभो
ल्याउने लाने भेट्न आउने माया मार्नुभो !

ममी सधैँ यो गीत किन गाउनुहुन्थ्यो र आँखा छल्काउनुहुन्थ्यो, आज आएर बुझ्दैछु । मेरो मामाघर मञ्ज्याङ मर्स्याङ्दी पारी र मेरो घर दुराडाडा मर्स्याङ्दी वारि पर्दछ । सायद ममीलाई मर्स्याङ्दी तारेर बिहे गरी दिएको र वर्षामा नदी बढ्ने र माइत जान नसक्ने अनि माइतबाट पनि तीजमा लिन आउन नसक्ने भएको भएर यो गीत गाउनु भएको होला जस्तो लाग्छ ।

सिरान घर ठूलोममीकोमा भेला हुँदा भने हामीहरू धेरै जसो ‘फुच्ची फुइँ फुइँ’ भन्ने एकप्रकारको नाच नाच्ने गर्दथ्यौँ । त्यही घरमा मेरै उमेरकी एक जना दिदी थिइन् र उनी त्यो खेल्न निकै रहर गर्ने गर्दथिन् । केटा र केटीहरू आमने सामुन्ने अलग अलग बसेर फुच्ची फुइँ फुइँ भन्दै बसेर उफ्रँदै एकअर्काको नजिक गएर उनीहरूलाई धकेलेर, लडाएर, एकदम रमाइलो गरेर खेल्ने गरिन्थ्यो यो खेल । र उनी, सधैँ पहिलो हुने गर्दथिन् ।

बिहे गरेर गएका दिदीहरू माइत आउँथे र एकै स्वरमा गाउँथे-

सुन्तलाका हाँगा र बिँगा
टुप्पै बस्यो जुरेली नि बरिलै टुप्पै बस्यो जुरेली
त्यहीमा जुरेली मार्न जान
त्यहीमा जुरेली मार्न जान
लेउ लेउ भाउजू गुलेली नि बरिलै
लेउ लेउ भाउजू गुलेली

निकै बेर गीत गाइसकेपछि जसको घरमा गीत गाएको छ उसैले कि काँक्रो कि लट्टे (अनदीको चामललाई घ्यू, नरिवल, चिनी हालेर पकाएको एक प्रकारको परिकार) या अचार बाँड्थे र सबैजना एक छिन गीत रोकेर खाँदै बात मार्थे ।

खाइसकेपछी कोही घर जाने तरखर गर्थे त कोही एकै छिन गाउने भनेर जान लागेकालाई पनि रोकेर गीत सुरु गर्दथे । कति गीतहरू पुन: दोहोरिन्थे भने कति गीतहरू नयाँ । कहिले भने क्यासेटमा चक्का हालेर तीज गीत बजाउँथे र चक्कासँगै ताल मिलाएर गाउँदै नाच्ने गर्दथे । कतिकती बेला लोक गीतका टुक्काहरू झिक्ने गर्दथे ।

यसरी गीत गाउँदा गाउँदा रातको बाह्र बजिसकेको हुन्थ्यो । भोलि कस्कोमा गएर गाउने भनेर सल्लाह गर्दै त्यो दिनको जमघटको अन्त्य गर्दथे । कोही ब्याट्री वाला लाइट बालेर निस्कन्थे भने कोही खर बालेर निस्कन्थे ।

सम्झँदा सम्झँदै बाह्र बजिसकेको थियो । छतको बत्ती बलिरहेकोले निभाउन भनी छतमा निस्कें । छिमेकको घरमा ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए’ गीत बजिरहेको थियो र केही महिलाहरू हातमा सिसाको ग्लास लिएर तीजको दरमा रमाइरहेका थिए ।

ooo

ooo

 

प्रतिक्रिया दिनुहोस्