Logo

दुःखै दुःखले घेरिएको घर



Spread the love

बुंकोट – गोरखा सदरमुकामबाट करिब १५ किलोमिटर पूर्वमा पर्छ खाब्दीभञ्ज्याङ । सानो यो बजारबाट आधा घन्टा मकैपुरको उकालो हिँडेपछि कोटथोक आउँछ । कोटथोकको सिरानमा एउटा झुप्रो घर छ । १६ वर्षअघि यही झुप्रोमा राजीव श्रेष्ठको जन्म भएको थियो भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । चार छोरी जन्मिएपछि छोरा जन्मियो भनेर उनका बाबुआमाले राँगो काटेर आफन्तजन र गाउँलेलाई भोज खुवाए, खुसीयाली मनाए । अफसोच, एक वर्षको नहुँदै उनको ज्यान सुक्दै गयो । टाउको धान्न नसक्ने हुन थाल्यो ।

ज्यान लल्याकलुलुक हुँदै गयो । बोल्न नसक्ने, घिस्रेर हिँड्न पनि नसक्ने हुँदै गए । उनीभन्दा माथिका दुवै दिदीलाई पनि यस्तै समस्याले गाँजेको थियो । राजीव पनि अब त्यस्तै हुने भयो भनेर परिवारलाई चिन्ता लाग्यो । छिमेकी पनि चिन्तित भए । ‘अरू त त्यस्ता भएभए, यो छोरालाई पनि बिगार्ने भए । उपचार गर्न लैजाओ भनेर सबैले कराए’ आमा पोषकुमारी पुराना कुरा स्मरण गर्दै भन्छिन्, ‘काठमाडौं लगियो । पोखरा लगियो । दबाई खुवाइयो । केके गरियो-गरियो । डाक्टरले टाउकाको अप्रेसन गर्नुपर्छ भने । अप्रेसनचाहिँ गरिएन ।’

पैसा नभएर अप्रेसन नगरेको दुःख सुनाउँदा उनको गला अवरुद्ध भयो । ‘सम्पत्तिको नाममा दुई हलको मेलो पाखो बारी छ’, उनले भनिन्, ‘बिहान खाए साँझ के खाऊँ, साँझखाए बिहान के खाऊँ छ । टाउकाको अप्रेसन गर्ने पैसा कहाँ पाउने ? ‘ तीन सन्तान यसरी नै अहिले पूर्ण अपांग छन् ।
खर्च अभावले कसैको पनि उपचार गर्न नसकेको बाध्यता सुनाउँदा उनको अनुहारमा पीडाभाव स्पष्ट देखिन्थ्यो ।

त्यसयता यो दम्पतीले पूर्ण अपांग तीन सन्तानको स्याहार गर्दै आएको छ । राजीवभन्दा माथिका २५ वर्षकी दिदी शिला र उनीभन्दा पनि माथि ३० वर्षकी लीला पनि पूरै अपांग छिन् । तीनैजना सुतेरै दिन, रात, साँझ, बिहान बिताइरहन्छन् । हात, टाउको, ज्यान पनि अरूले नै दायाँ-बायाँ घुमाइदिनुपर्छ । देख्न सक्छन्, सुन्न सक्छन् तर बोल्न सक्दैनन् । ‘सँगै बसिरह्यो भने तीन जनाको टाउको, ज्यान दायाँ-बायाँ घुमाइरहनुपर्छ । ज्यान दुख्दो होला, रुन्छन् । ज्यान मिचिरहनुपर्छ’, पोषकुमारी भन्छिन्, ‘तर सँगै बसिरहन पनि पाइँदैन । निमेक नगरे मुखमा चारो पर्दैन, घर-गृहस्थी धान्नै पर्‍यो ।’

उठाइदिने, दिसापिसाब गराइदिने, हातमुख धोइदिने, पकाउने, खाने, खुवाउने गरेरै बिहान बित्छ । ‘११ बजेतिर दौडिँदै मेला गयो, घरमा यिनीहरूलाई के भइरहेको होला भनेर भत्भती पेट पोलिरहन्छ’, लुंगीको फेरले आँसु पुछ्दै पोषकुमारीले भनिन्, ‘साँझ आयो, यिनकै स्याहारसुसार गर्‍यो पकायो, खुवायो, यसरी नै चलिरहेको छ ।’

अहिले जसोतसो चलिरहे पनि आफ्नो हातखुट्टा बसेपछि के गर्ने भन्नेमा उनीहरू चिन्तित छन् । ‘अहिले त यी तीन मात्र सुतिरहेका छन् । अब हामी पनि काम गर्न नसक्ने भएपछि सबैजना यतै थुप्रो लाग्यो बस्यो’, उनी भन्छिन्, ‘मनकारी इष्टमित्रले बेलाबेला सहयोग गर्छन् । एक÷दुई दिन पो सहयोग गर्लान् । आफन्तले नि सधैं सक्दैनन्, एक÷दुईफेर सहयोग गरेर के साध्य लाग्छ र !’

पोषकुमारीको परिवारको साहै्र बिचल्ली रहेको वडाध्यक्ष शरण श्रेष्ठ बताउँछन् । ‘लीला, शिला र राजीव तीनैजना सधैं पिँढीमा पसारो परिरहन्छन्’, उनी भन्छन्, ‘बुबा र आमा दिनभर अरूको निमेक गर्न जान्छन् । खानुखुट्नु हुँदैन । दिनभर त्यस्तै पल्टिरहन्छन् । बिजोक देख्नुपरेको छ ।’
राजीवभन्दा माथिका दुई छोरीको बिहे भइसकेको छ । पोषकुमारी पनि क्षयरोगी हुन् ।

प्रतिक्रिया दिनुहोस्