Logo

जङ्गबहादुरको भेषमा रोपाइँ जात्रा



Spread the love

३ भदौ, काठमाडौँ । सबैतिर रोपाइँ सकिएको झन्डै महिना दिनपछि पशुपति क्षेत्रमा भने आइतबार रोपाइँ जात्रा जम्यो । तत्कालीन जङ्गबहादुर राणाको भेषमा रहेको घोडचढीले जात्राको अगुवाइ गरेका थिए ।


इतिहासअनुसार सबैतिर रोपाइँ सुरु हुँदा पनि राजधानीको पम्बु अर्थात् कुमारीगाल, मैजुवहाल हुँदै टुसालका खेतमा रोपाइँ बर्जित थियो । सबैतिर रोपाइँको तयारी भइसक्यो, हामीले पनि समयमै रोपाइँ गर्न पाऊँ भनी पम्बुका किसानको जङ्गसमक्ष निवेदन प¥यो । ‘लौ रोपाइँ गर’ भन्ने जङ्गको आदेश निवेदन सुनुवाइ गर्दागर्दै भदौ कृष्ण तृतीयाका दिन आयो, यसपछि पम्बुखेतमा अन्य स्थानभन्दा ढिला रोपाइँ हुन थाल्यो ।

विगतमा यसो भए पनि अचेल पम्बुमा पनि असारमै रोपाइँ हुने गरेको छ तर जङ्गको यो ढिला आदेशको स्मरणमा जङ्गको घोडचढी भेषमा एक पात्र तयार गरेर जात्रा मनाउने चलन छ । यस क्षेत्रमा आजभोलि कङ्क्रिटको घना बस्ती रहेको छ । पम्बुका ज्येष्ठ नागरिक सन्तराम डङ्गोलका अनुसार घर निर्माण भएर बाँकी रहेका क्षेत्रमा भने असारमै रोपाइँ हुन्छ । यद्यपि ऐतिहासिक तथ्यलाई स्मरण गर्दै हरिजनबस्ती, नवालीटोल र पशुपतिका बासिन्दाले यो जात्रा भने मनाउँदै आएका छन् । जात्रामा कृषिबाहेक सामाजिक विकृतिका बारे झाँकी प्रस्तुत गर्ने चलन अचेल छ । याे समाचार आजकाे गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्