Logo

कविता जन्मिनु, आगो सल्किनु जस्तै हो…



पिता कुम्ब सिंह गुरुङ र माता सेतु माया गुरुङसेनीको सुपुत्रको रुपमा माझ गाउँ, मान्बु, गोरखामा जन्मिएका चन्द्र गुरुङ हाल वैदेशिक रोजगारीको सिलसिलामा बहराईनमा कार्यरत छन् । नेपाल कमर्स क्याम्पस, मिनभवन, काठमाडौंबाट बि.बि.एस. विषयमा स्नातक सकेका गुरुङको ‘उसको मुटु भित्र देशको नक्शा नै थिएन (२०६३)’ कविता संग्रह प्रकाशित छ । समकालीन नेपाली कविता क्षेत्रमा स्पष्ट अनुहार बनाइसकेका गुरुङले थुप्रै विदेशी कविताहरुको नेपाली अनुवाद गर्दै आइहेका छन् ।

Image may contain: text
चन्द्र गुरुङको कविता कृतिः उसको मुटुभित्र देशको नक्सा नै थिएन

प्रस्तुत छ, सर्जकअफ द विकका लागि कवि चन्द्र गुरुङसँग सल्लेरी खबरका राजु झल्लु प्रसादले गरेको साहित्यिक चर्चाको संक्षिप्त अंश:

राजु- कविताले तपाईंको बाटो काट्छ कि तपाईं कविता बाटोमा हिड्नुहुन्छ ? कविता क्लिककसरी हुन्छ ? कविता सिर्जना गरिरहँदा केकस्ता अनुशासन हुन्छन् तपाईंका ?

गुरुङ- एउटा उत्कृष्ट कविता लेखेको ठोकुवा कुनै कविले गर्न सक्दैन । सिर्जना फूल फुल्नु जस्तै रहेछ, चाहिने वातावरण र स्रोतसाधन उपलब्ध भएपछि आफै फुल्छ । कविता जन्मिनु आगो सल्किनु जस्तै हो, सानो झिल्को पनि हावाको स्पर्श पाएपछि झन् रापिलो बन्छ । यसो भन्दैमा अध्ययन र मिहिनेतको कुनै योगदान नभएको भन्न चाहेको चाहीं होइन ।

कविता सिर्जनामा चाहिने सामग्री कवि आफैंले थुपार्ने हो । हुनसक्छ कहिलेकाहीं कवि डुलिरहेको आकाशगङ्गामा बिम्बको पुच्छ्रेतारो आफै आएर झुल्किन पनि सक्छ । यी एकआपसमा यसरी भेटिन सक्छन् । जो सुखद अनुभूति हो ।

कविताको पनि ईन्जिनियरिङ् हुन्छ । कविताको डिजाइन कोर्न सकिन्छ । यसमा थप परिमार्जन गर्न सकिन्छ । तर कविता क्लिक पनि हुन्छ । शर्त यो छ कि कविको मनमस्तिष्क यसको लागि तयार रहनुपर्छ । कविताले ढोकामा आएर ढकढक्याउँदा, कविले ढोका खोलेर स्वागत गर्न सक्नुपर्छ ।

मेरो कविताको ध्येय आपसी बन्धुत्व, सद्भाव, मानवता र शान्ति हो ।

समाज र मानव समुदायको कल्याण हो ।

अनुशासन यहीँ हो कि कवितामा सकारात्मक सन्देश होस् । मेरो कविताको ध्येय आपसी बन्धुत्व, सद्भाव, मानवता र शान्ति हो । समाज र मानव समुदायको कल्याण हो । सक्दो मेरा कविताहरूमा मानवीय मूल्य र मान्यताले ठाउँ पाओस् भन्ने चाहन्छु ।

राजु- कविता विचारदेखि कति टाढा छ ? भाषा, शैली र अभिव्यक्तिदेखि कति टाढा र नजिक रहन्छ कविता ? यो वर्णन, चित्रण या अनुभूति के हो ?समकालीन कविहरु कपोलकल्पित संसार, इन्द्रेणी, क्षितिज, जुन-तारा जस्ता कुराहरुमा घुँडा धसेर लागिपरेका देख्छौं । यो कत्तिको निको लाग्छ ? कविताले समेट्न सक्ने उत्तरोत्तर बौद्धिक कहाँसम्मको हो ?

गुरुङ- कवितामा हुने नै भावनाको गहिराई र विचारको उच्च उडान हो । कवितामा यिनलाई सजाउने काम कलाको हो । कलामा भाषा, शैली, लेखन, शब्द छनौट, शब्द संयोजन आदि पर्छन् । र यी कविताका अभिन्न अङ्ग हुन् । यी सबैबाट एउटा कविताले टाढा जान पाउँदैन । यी नभए कविता कुरुप बन्छ ।

जब भावना या विचारले केही तरङ्ग ल्याउँछ र यसलाई शब्दहरूको सहयोगले एउटा रुप दिइन्छ । तब कविताको जन्म हुन्छ । कविता हाम्रो आवाज हो, जसमा हाम्रो हाँसो, खुसी, सुख, दु:ख, र पीडाहरू प्रकट हुन्छन् । कविताले हामीलाई जीवित रहेको आभाष दिलाउँछ । यसले जीवनलाई महत्व प्रदान गर्छ ।

कवितालाई एकै परिभाषाले कहिल्यै बाँध्न सकेन । उहिले कवितामा कथा, युद्धको वर्णन, स्तुतीगान आदि हुन्थे । त्यसपछि कवितामा भावना, सोच र कल्पनालाई धेरै महत्व दिएको पाइन्छ । कवितामा जुनतारा, आकाश, र इन्द्रेणी लेखिनु गलत होइन । उहिले पनि लेखिएकै हुन् । तर अहिलेको समय धेरै फरक छ– व्यस्त जीवनशैली, मानवीय गुणहरूमा ह्रास, विसङ्गतीपूर्ण र पतनशील समाज । यस अवस्थामा कविताले जुनताराभन्दा पनि केही आशा र उत्साह दिनुपर्छ ।

कलामा नसजिएको कविता शब्दहरूको थुप्रो मात्रै हो ।

कवितामा बौद्धिकताको लेपन छैन भने कविता नाङ्गो देखिन्छ ।

कविता कलाको रुप हो । यसमा कला हुन धेरै आवश्यक छ । अचेल त समाचार र भाषण पनि कलात्मक हुन्छन् । कलामा नसजिएको कविता शब्दहरूको थुप्रो मात्रै हो । कवितामा बौद्धिकताको लेपन छैन भने कविता नाङ्गो देखिन्छ । हरेक प्रकारको बौद्धिकताले कवितामा गहनता थपिन्छ ।

राजु- “टुप्पोबाट लेखिएको छ नेपाली ईतिहास, जसले सीमान्तकृतलाई समेट्न सकेन । इतिहास निष्ठुर छ ।“ भन्ने गरिन्छ । तपाईं लामो समयदेखि कविता साधनामा लागिरहनुभएको छ । दिग्गज, अग्रजदेखि समकालीन कविहरुसम्म आइपुग्दा नेपाली साहित्य यसबारे कत्तिको इमानदार देख्नुहुन्छ ? नेपाली साहित्य नेपाली समाजप्रती साच्चै निष्ठुर छ र ?

गुरुङ- इतिहासको काम हामीले बाँचेको समयको तथ्य लेख्नु हो । कविताले पनि त्यही समयको समाजको रुपरङ्ग लेखिरहेको हुन्छ । यसरी साहित्यले इतिहासको काम केही सजिलो बनाइदिन्छ ।

कविताले सामाजिक परिवर्तनको लागि एउटा एजेन्टको काम गर्छ । शान्तिपूर्ण तथा सुखद् समाज निर्माणमा यसको महत्वपूर्ण भूमिका रहन्छ । मलाई हाम्रो इतिहास निष्ठुर भए पनि साहित्य चाहिँ थिएन भन्ने लाग्छ । नेपाली साहित्यमा, त्यो पनि विशेष कवितामा कवि श्रवण मुकारुङले ‘बिसे नगर्ची’को कथाव्यथा लेख्नुभन्दा धेरै अगाडि वैरागी काइँलाले ‘मातेको मान्छेको भाषण’ कविता लेखिसकेका थिए । जनप्रिय कवि भूपि शेरचनका कविताहरूले सीमान्तकृतहरूलाई झकझक्याउने प्रयास गरेकै हुन् ।

सायद, त्यो समयको साहित्यमा सीमान्कृत वर्गलाई समेटने लहर चलेन । या लहर चले पनि सर्जकहरू एकजुट भएर लाग्न सकेनन् । तर भूसमा आगो त सल्किसकेको थियो । त्यो समयको सामाजिक र राजनैतिक अवस्थाले अहिले देखिएको चेतना तथा अभिव्यक्तिको लागि भूमिका तयार परेको चाहीं हो ।

कविताकर्म एउटा यात्रा हो सुन्दर जीवनको लागि ।

कविताको साधनामा लागेर एउटा असल जीवनको अभ्यास गर्न सकिन्छ ।

यसकारण पनि म कविता लेख्छु ।

राजु- कविता कसरी लेख्दै हुनुहुन्छ ? कविता यात्रा कसरी शुरु भयो ? थोरै बताउनुस् न !

गुरुङ – जीवनले हँसाउँछ, र रुवाउँछ पनि । कहिले मायाले सुमसुम्याउँछ त कहिले यसका लहरहरूले विशाल मरुभूमिमा लगेर छोडिदिन्छ । यसरी बाँच्ने क्रममा जेजस्ता अनुभूतिहरूले मनमुटुमा ठाउँ खोज्दै आए, म सबलाई कवितामा राख्दै हिँडेको छु ।

परदेशी जीवनको एक्लोपन, घरपरिवारसितको भौगोलिक दूरीको पीडा, र देशको वर्तमान परिस्थितिले पनि लेख्न प्रेरित गरिरहन्छ । आफैलाई व्यक्त गर्ने सर्वोत्तम माध्यम बनेको छ कविता । साथै, कविताकर्म एउटा यात्रा हो सुन्दर जीवनको लागि । कविताको साधनामा लागेर एउटा असल जीवनको अभ्यास गर्न सकिन्छ । यसकारण पनि म कविता लेख्छु ।

०००

प्रस्तुत छ, गुरुङका तीन कविता:

पहिलो कविता

देशको अनुवार

सूनसान रातमा ताराहरू झरेर गएपछि

आकाशको उज्यालो झैँ

खोस्सिएको छ देशको आँखाबाट चमक ।

 

एउटा ढुङ्गे देवतालाई चढाउन

एक थुँगा फूल टिपिएझैँ

चुँडाइएको छ देशको ओठबाट मुस्कान ।

 

सपनाका व्यापारीले सुनाउँछन् वर्षातको रौनक

वाचा गर्छन् वसन्तको रमाइलो

गरीबको आँगनमा ओइलिएको गुलाबझैँ

जीवनहीन छ देशको सपना ।

 

उसको रूप र सौन्दर्यमा मोहित

कुनै पाखण्डी जादुगरले

थुनिराखेको राजकुमारीको थकित धड्कनझैँ

सुस्ताएको छ देशको प्राण ।

 

आआफ्ना स्वार्थका झण्डा उचाल्दै

आ-आफ्ना हितका गीत गाउँदै

टायरसित जलाइदिएका सडक र रेलिङ्गझैँ

भत्किएको छ देशको हाँसो ।

 

सुखको एउटा घाम खोसिएको

शान्तिको एउटा जून लुटिएको क्षितिजझैँ

यस घडी

मलिन छ देशको अनुवार ।


 

दोस्रो कविता 

चराहरूले छोडेर गएपछि 

चराहरूले छोडेर गएपछि एउटा रुख

मेरो देश बन्छ

बसन्तको आगमन हुँदैन

वरिपरि रङ्ग उडेका पहाड उभिन आउँछन्

उड्छ हावा चिहानडाँडाको विरक्ती सुसेल्दै

टुप्पो टुप्पोमा रित्तोपन बस्छ

काँधमा घामका भारी खुट्टाले टेक्छन्

ओढ्दै निराशाको पछ्यौरी

लम्पसार पल्टिदिन्छन् दिनहरू ।

 

चराहरूले छोडेर गएपछि एउटा रुख

मेरो देश बन्छ

एक्लो एक्लो झोक्रयाइरहन्छ

बर्षात् नरमाइलो सुकसुकाउँदै झर्छ

यहाँ वहाँ सुनसान बगरसित मितेरी गाँस्दै

भित्रभित्रै गहिरो बग्छ पीडाको नदी

हाँगा हाँगामा पतझड आएर झुन्डिन्छ

पात पातमा गीतहरू मर्छन्

कि गीतका कारखानामा रमाउने चराचुरुङ्गी

उडी जान्छन् टाढा टाढाको परदेश ।

 

चराहरूले छोडेर गएपछि एउटा रुख

मेरो देश बन्छ ।

 


तेस्रो कविता 

तिमी छैनौं, तर उस्तै छ माया

 

तिमी छैनौं, तर उस्तै छ माया

हाम्रा भेटहरूमा

तिमी उभिन्थ्यौ झ्यालको छेउमा

बाहिर हेर्थ्यों –रिक्सा, मार्केट, मानिसहरू

फर्केर एकोहोरो हेर्थ्यों मलाई

मुस्कुराउँथ्यौ, लजाउँथ्यौ र फेरि बाहिर हेर्थ्यों ।

आज, विछोडको यति वर्षहरूपछि

तिमी त्यहाँ नै उभिएकी छौ

त्यसरी नै बाहिर हेर्छौ

फेरि फर्केर हेर्छौ मलाई ।

 

तिमी छैनौं, तर उस्तै छ माया

उस्तै छ तिमीले बनाउने चियाको बासना

काउकुती लगाउँछ तिम्रो स्पर्शले अझै

सल्काउँछ डढेलो तिम्रो निश्वासले

कोठाभरि चिरबिराउँछ त्यो बोलीको चरी

उस्तै चल्छ तिम्रो हाँसोको बतास

घाइते बनाइरहन्छ त्यो नशालु हेराइले मलाई ।

आज, विछोडको यति वर्षहरूपछि

हाम्रो अन्तिम भेटमा झैं

तिमी त्यहाँ नै उभिएकी छौ

त्यही हाउभाउमा

त्यही हेराई बोकेर ।

 

तिमी छैनौं, तर उस्तै छ माया

उस्तै छ त्यो चुम्बनको उडान

प्रेमको गहिरो सागरमाथि माथि डुलिरहने

घुमिरहन्छ तिम्रो अनुहारको पृथ्वी

मेटिएको छैन छातिमाथि ती दाँतहरूको पङ्ति

हलुको ढल्किएकै छ यो काँधमा तिम्रो शिर

समातेकी छौ मेरो हात तिम्रो हातमा

उस्तै छ ती औंलाहरूको चलखेल मेरो केशमा

म बेरिएकै छु तिम्रो अँगालोको नियानोपनमा अझै ।

आज, विछोडको यति वर्षहरूपछि

हाम्रो अन्तिम भेटमा झैँ

तिमी त्यहाँ नै उभिएकी छौ

त्यही लुगामा

त्यही मुस्कान बोकेर ।

 

तिमी छैनौं, तर उस्तै छ माया

अझै

केही फेरिएको छैन ।

०००

यो पनि पढ्नुहोस्ः

सर्जक अफ द विकको अघिल्लो अंकमा कवि/अबिनेता राजवल्लभ कोइरालाः

मेरो सोचका हरेक पूर्णविराम, अल्पविरामहरू कविता हुन् !

०००

‘सर्जक अफ द विक’ सल्लेरी खबर र आभा For Creativity को संयुक्त प्रस्तुति हो ।

 

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्