Logo

भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको छैन : सरकारका प्रवक्ता गोकुल बाँस्कोटा



Spread the love

१३ भाद्र, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार ‘भिडियो कन्फरेन्स’ मार्फत मन्त्रिपरिषद् बैठक नबसेको दाबी गरेका छन् । भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री र मन्त्रीबीच हाइहेलो मात्र भएको भन्दै मन्त्री बाँस्कोटाले यसलाई अतिरञ्जना नगर्न आग्रह गरे। कुराहरु आदानप्रदान गरेकाे तर एजेण्डामा प्रवेश नगरेकाे सञ्चारमन्त्री बाँस्कोटाले बिहीबार प्रतिनिधिसभामा सार्वजनिक महत्वको विषयमा बोल्दै सोमबार मन्त्रिपरिषद् बैठक नबसेको दाबी गरेका हुन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री बाँस्कोटाले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौमसत्तामाथि नै सरकारले गडबडी गरेको छ कि भन्नेरुपमा भ्रम फैलाउने काम भइरहेको समेत बताए । गोपनियता र सुरक्षाको प्रश्नमा सरकार सम्वेदनशील रहेको पनि बताए। ‘अमेरिकी र रुस राष्ट्रपतिले अकाशबाटै भिडियो कन्फ्रेन्स गर्छन्। त्यहाँ त सूचना चुहिँदैन’, उनले उदाहरण प्रस्तुत गरे।

प्रधानमन्त्री ओलीले सोमबार समाजिक सञ्जाल ट्विटरमा प्रविधि र प्राविधिकलाई धन्यवाद दिँदै लेखेका थिए, ‘आज (सोमबार) पहिलोचोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद्को बैठक बस्न सकियो। मन्त्रिपरिषद्का सबै सहभागी साथीलाई धन्यवाद।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सबै सहयोगीलाई धन्यवाद। ’

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानु एक दिन पहिला भदौ ४ गते बसेको मन्त्रिपरिषद्ले बैठक सञ्चालन कार्यविधि संशोधन गरेको थियो।  कार्यविधिमा प्रधानमन्त्री विदेशमा रहेका बेला पनि ‘भिडियो कन्फरेन्स’ बाट मन्त्रिपरिषद् बैठक गर्नसक्ने व्यवस्था राखिएको थियो।  सोहीअनुसार सोमबार पहिलोपटक सोही प्रविधिको प्रयोग गर्दै बैठक गरिएको थियो।

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुरमा छन् ।

प्रतिक्रिया दिनुहोस्