Logo

बैँसको सबैभन्दा मीठो सुवास चल्ने उमेर हो – ‘गुलाबी उमेर’



Spread the love

बैँसको सबैभन्दा मीठो सुवास चल्ने उमेर हो – ‘गुलाबी उमेर’

‘पानीको घाम’, ‘सेतो धरती’, ‘करोडौं कस्तूरी’ पुस्तकमार्फत् पाठकको मन जितेका अमर न्यौपाने मदन पुरस्कार तथा पद्मश्री साहित्य सम्मानसमेत जितेका साहित्यकार हुन् ।  उनै साहित्यकार न्यौपानेको बहुप्रतिक्षित पुस्तक गुलाबी उमेर विमोचनको संघारमा छ । भदौ २१ गते न्यौपानेको चौथो पुस्तक गुलाबी उमेर फाइन प्रिन्टमार्फत् सार्वजनिक हुँदैछ ।

साहित्यकार अमरका अनुसार एउटी किशोरीको हुर्कंदो उमेरको कथा होगुलाबी उमेर । 

“यो पुस्तक १३ वर्षदेखि १९ वर्षसम्मका किशोरीको मनोवैज्ञानिक विकासक्रमलाई आधार बनाएर लेखिएको हो। उसको उमेरमा आउने मानसिक तथा शारीरिक परिवर्तन र रहस्यहरुको कथा हो –गुलाबी उमेर ।” 

“मैले उमेरलाई पाँच भागमा विभाजन गरेको छु। जन्मेदेखि बाह्र वर्षसम्म पल्लवी, तेह्रदेखि उन्नाइससम्म गुलाबी, बीसदेखि चालीससम्म मखमली, एकचालीसदेखि साठ्ठीसम्म बैजनी र साठ्ठीभन्दा माथि अस्मानी उमेर ।”

एउटा किशोरी यौवन अवस्थामा प्रवेश गर्दाका सामाजिक, मनोवैज्ञानिक, बौद्धिक एवं जीवनभोगाइका विविध पाटोहरूलाई समेटेको ‘गुलाबी उमेर’लाई हातमा खेलाउँदै उनले बताए -“पुस्तक किशोरवय अवस्थाको अनुभूति हो, मनोविज्ञान हो ।”

साहित्यकार अमर न्यौपानेका प्रकाशित कृतिहरू

उनैले समाइरहेको फूलबुट्टाले सजिएको ‘गुलाबी उमेर‘को कभरको पछिल्लो भागमा लेखिएको छ:

आँधीलाई झैं सम्हाल्न गाह्रो । तर सम्हालिसकेपछि बहार जस्तै सुवासिलो लाग्ने उमेर यही हो ।

पहाडलाई झैं अँगाल्न गाह्रो । तर अँगालिसकेपछि प्रेम जस्तै मीठो लाग्ने उमेर पनि यही हो ।

बादलझैं उडेका सपनालाई कपास सम्झिएर धागो बनाउने अनि बारबार बुन्ने र उधार्ने उमेर पनि यही हो ।

कल्पनामा उडेर आकाश छुने; जूनतारा टिप्ने र आफ्नो मायालुलाई तलाउमा प्रतिबिम्ब देखाएर साँच्चै नै जूनतारा टिपेको सम्झिँदै रमाउने उमेर पनि यही हो ।

कहिल्यै थकाइ लाग्दैन जस्तो;

कहिल्यै रोग लाग्दैन जस्तो;

कहिल्यै बुढ्यौली आउँदैन जस्तो

र कहिल्यै मर्नुपर्दैन जस्तो लाग्ने उमेर पनि यही हो ।

 

बैँसको सबैभन्दा मीठो सुवास चल्ने;

मीठो सुवासले मायाका रङ्गीन फूल फुलाउने

र त्यही मायामा मन भुलाउने सबैभन्दा उर्वर उमेर पनि यही हो ।

आफ्नै तन र मनलाई आफैंले छुँदासमेत आफूलाई मन परेको मानिसले छोएझैं आनन्द लाग्ने उमेर पनि यही हो ।

भविष्यको अनिश्चित संसारलाई उज्यालो र हराभरा बनाउन जीवनको नदीलाई बाँध बाध्ने उमेर पनि यही हो ।

असम्भव जस्तै लाग्ने कल्पना; महामानवको भावना जस्तै लाग्ने समभावना; मरूभूमिमा स्वर्गीय सपना देख्ने जाँगरको सागर भएको उमेर पनि यही हो ।

 

जीवनको यात्रा शिखरको पनि हुन सक्छ; शूलीको पनि । यी दुवै गन्तव्यमा पुर्याउन  साइतको शिलान्यास गर्ने उमेर पनि यही हो – गुलाबी उमेर ।

पुस्तक : ‘गुलाबी उमेर’

 

साहित्यकार अमर न्यौपानेद्वारा लिखित ‘गुलाबी उमेर‘को  भदौ-२१ गते  शनिबारका दिन दिउँसो ०३:१५ बजे डबली, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा लोकार्पण समारोह रहेको छ ।

सम्पादिकीय नोट: साहित्यकार अमर न्यौपानेसँगको विस्तृत कुराकानी आगामी अंकको सल्लेरी कोलाजमा प्रस्तुत गर्नेछौं ।  प्रतीक्षा गर्नुहोला !!

प्रतिक्रिया दिनुहोस्