Logo

नेपालका तीन सम्पदालाइ विश्व सम्पदा सूचीमा थप्न प्रस्ताव गरिने: मन्त्री भट्टराई



Spread the love

१८ भदौ, बुटवल । नेपालका तीन सम्पदालाइ विश्व सम्पदा सूचीमा  सूचीकृत गर्न प्रस्ताव गरिने पर्यटन मन्त्री योगेश भट्टराईले बताएका छन् ।

कपिलवस्तुको तिलौराकोट, धनुषाको रामजानकी मन्दिर र नवलपरासीको रामग्रामलाई सूचीकृत गर्न खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

६ महिनाभित्र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्ताव लगिने, पर्यटन मन्त्री योगेश भट्टराईको एक वर्षे कार्ययोजनामा समावेस गरिएको छ । रामजानकी र रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया पनि यसै अवधिमा अगाडि बढाउने घोषणा मन्त्री भट्टराईले गरेका छन् ।

यूनेस्कोले भूकम्पपछि काठमाडौं सहित नेपालका सम्पदालाई खतराको सूचीमा राख्ने चेतावनी दिँदै आएको छ । सन् २०१९ को वल्र्ड हेरिटेज कमिटि बैठकमा समेत यूनेस्कोले यो प्रस्ताव लगेको थियो । तर, पारित भने हुन सकेन ।

सुस्त पुनर्निर्माण, पुनर्निर्माण हुदा आधुनिक निर्माण सामग्रीको प्रयोग र मानवीय हस्तक्षेपका कारण कुरुप बन्दै गएका सम्पदालाइ लिएर यूनेस्कोको असन्तुष्टि देखिएको छ । मन्त्रालयले विश्व सम्पदामा यूनेस्कोको चासो सम्बोधन हुने गरी कार्ययोजना बनाउने र त्यसलाई कडाइपूर्वक कार्यान्वयनमा ल्याउने कुरालाई योजनामा समेटेको छ ।

विश्वका १६७ मुलुकबाट १ हजार १ सय २१ वटा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन् । त्यसमध्ये ५३ वटा सम्पदा खतराको सूचीमा परेका छन् ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) विश्व सम्पदा सूचीको नियमन गर्ने आधिकारिक निकाय हो । यूनेस्को अन्तर्गत रहने हेरिटेज कमिटीको सेसनले हरेक वर्ष नयाँ थप गर्ने, खतराको सूचीमा राख्ने र खतराको सूचीबाट हटाउने सम्पदाबारे निर्णय गर्छ ।

प्रतिक्रिया दिनुहोस्