Logo

फोहोरबाट मोहर कमाउने योजना बनाउँदै प्रदेश ५ सरकार



Spread the love

१८ भदौ, काठमाडौं । प्रदेश ५ सरकारले सहरी क्षेत्रको प्रमुख समस्या रहेको फोहोरबाट ऊर्जा उत्पादन गरी मोहर कमाउने महत्वाकांक्षी योजना अगाडि सारेको छ।

सरकारको योजना सफल हुनेमा आशंका रहे पनि यसको लागि प्रारम्भिक काम सुरु गरिसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। प्रदेश ५ का १२ वटै जिल्लामा उत्पादन हुने फोहोरको प्रकृति, परिमाण र त्यसबाट उत्पादन हुने ऊर्जाबारे साढे सात लाख रुपैयाँ खर्चिएर सम्भाव्यता अध्ययन गरिसकेको पनि मन्त्रालयले जनाएको छ ।

फोहोरबाट ऊर्जा उत्पादन गर्ने विषयमा १२ वटै जिल्लामा छुट्टाछुट्टै अध्ययन गरिसकेको मन्त्रालयका इन्जिनियर सूर्यदेव गुप्ताले बताए ।

कुहिने फोहोरबाट मात्रै ऊर्जा उत्पादन गर्न मिल्ने भएकोले पालिका छनोट गर्दा सोही अनुसार छनोट गरिएको मन्त्रालयले जनाएको छ । एउटा पालिकाले १ सय ३७ देखि ४ सय ५९ युनिट विद्युत् उत्पादन गर्न सक्ने सम्भावना देखिएको इञ्जिनियर गुप्ताले जानकारी दिए।

फोहोरबाट ऊर्जा उत्पादनका लागि मन्त्रालयले गत माघदेखि सुरु गरेको अध्ययन असार १० मा सकिएको हो। उक्त अध्ययनले प्रदेशका १२ जिल्लाबाट आउने फोहोरबाट प्रत्येक दिन २ हजार ६ सय युनिट भन्दा धेरै ऊर्जा उत्पादन गर्न सकिने देखिएको छ।

मन्त्रालयले त्यसको लागि चालु वर्षमा ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्