Logo

अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ: मन्त्री भट्टराई



Spread the love

१९ भदौ, काठमाडौं । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हालकै स्थानमा बन्ने सरकारले दाबी गरेको छ ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बनाउन सरकार दृढ रहेको र विमानस्थल बनाउने कुरामा अब सरकार पछि नहट्ने बताएका छन् ।

प्रस्तावित निजगढ विमानस्थलको हालको स्थान उपयुक्त भएको समय समयमा गरिएका अध्ययनले पनि पुष्टि गरेकाले अब दायाँबायाँ केही नहुने मन्त्री भट्टराईले बताए ।

बिहीबार काठमाडौँमा, नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको अन्तरक्रियामा उनले केन्द्रीय राजधानीसँग जोडिएको र यससँगै अन्योन्याश्रित भएर द्रुतमार्गलगायतका परियोजनासमेत सुरु भएको बताए । मुलुकमा ठुलो सङ्ख्यामा पर्यटक भित्र्याउन नेपाल जस्तो भूपरिवेष्टित मुलुकका लागि हवाईमार्ग नै प्रभावकारी माध्यम भएकाले त्यसका लागि अन्तर्राष्ट्रिय विमानस्थलको वृद्धि र विस्तार आवश्यक रहेको पनि मन्त्री भट्टराईले ।

केही महिनाभित्रै विमानस्थलको मोडालिटीका बारेमा निश्चित गरी थप छलफलका साथअघि बढ्ने पनि उनले जानकारी दिए । मुलुकमा हवाई यात्रुको चापलाई मध्यनजर गर्दै सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अघि बढाएको बताउँदै उनले दुवै विमानस्थलको काम अन्तिम चरणमा रहेको जानकारी दिए ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सिफारिस गर्न सरकारले विसं २०५१ मा अध्ययन सुरु गरेको थियो । अध्ययनका क्रममा विराटनगर, जनकपुर, भरतपुर, निजगढ, नेपालगञ्ज, धनगढी, सुर्खेत र भैरहवाको स्थलगत प्राविधिक अध्ययन गरी निजगढ नै उपयुक्त स्थान भएको भनी सिफारिस गरिएको थियो ।

विसं २०६४ मा राष्ट्रिय योजना आयोगले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको सो योजनालाई सूचिकृत गरेको थियो भने विसं २०६५ पुस २ गते ल्याडमार्क वल्र्डवाइड कम्पनीसँग आयोजना सम्भाव्यता अध्ययन गर्ने सम्झौता गरिएको थियो ।

यसै गरी विसं २०७१ फागुन २९ गते विमानस्थल क्षेत्र भनी घोषणा गरिएको आठ हजार ४९ हेक्टर क्षेत्रफल चार किल्ला तोक्ने निर्णय गरेको थियो भने विसं २०७५ जेठ ९ गते विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्