Logo

डेङ्गुका बिरामी ११ पुगे



Spread the love

२० भाद्र, तनहुँ – तनहुँ जिल्लामा डेङ्गुका बिरामी बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका ११ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ ।

कार्यालयका जनस्वास्थ्य अधिकृत एवं महामारी रोग नियन्त्रणसम्बन्धी फोकल पर्सन ऐश्वर्यचन्द्र भट्टराईका अनुसार बिहीबार मात्रै व्यास नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखा परेको छ । यसअघि बुधबार आँबुखैरेनीका दुई जनामा डेङ्गु देखिएको थियो ।

डेङ्गुका बिरामीको दमौली र पोखरामा उपचार भइरहेको छ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भीमाद नगरपालिकाका व्यक्तिलाई डेङ्गुको सङ्क्रमण देखा परेको कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य अधिकृत भट्टराईले टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनुजस्ता लक्षण देखा परे नजिकको स्वास्थ्य कार्यालयमा परीक्षणका लागि जान अनुरोध गरेका छन् ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालयमा बिहीबार बसेको बैठकले डेङ्गु रोगसम्बन्धी सचेतनाका लागि आइतबार सरोकारवालासहितको अभिमुखीकरण गर्ने निर्णय गरेको छ । जिल्लास्थित विभिन्न क्षेत्रका व्यक्तिलाई सहभागी गराएर डेङ्गु रोगसम्बन्धी सचेतना प्रदान गरिने भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्