Logo

आफ्नै बारीको तरकारी बेचेर करोडपति, कोटेश्वरमा ६ तले घर



– प्रेमनारायण आचार्य


२४ भाद्र, अर्घाखाँची – “चालीस सालमा पाएको सरकारी जागिर छाडेर अन्न फल्ने यस्ता बारीमा तरकारी खेती गर्दा बुद्धि बिग्रेको मान्छे भनेर डाहा गर्थे । तर तरकारीबाट राम्रो आम्दानी भएको देखेपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेशा बनाएका छन् ।” यो भनाइ हो घोचेखोलाका कृषक गणेश बन्जाडेको ।

घोचेखोलाका बञ्जाडे अहिले जिल्लाकै एक नमूना कृषक बनेका छन् । सामान्य गरीब परिवारमा जन्मेका ५७ वर्षीय बञ्जाडे जेटिएको सरकारी जागीरसमेत छाडेर तरकारी खेतीमा लागे । अरुको दवावमा काम गर्नुपर्ने, पैसाका लागि महिना दिन कुर्नु पर्ने, चाहिएको बेला घर खर्च नचल्ने भएपछि उनमा जागीर छाडेर कुनै नयाँ काम गर्ने विचार पलायो । महीना पुगेपछि पाइने तलबको जागीर भन्दा उत्पादनमूलक अर्को पेशा उपयुक्त हुन्छ भन्ने उनलाई लाग्यो । त्यतिखेर थालेको तरकारी खेतीले उनलाई अहिले मासिक लाखौं रुपैयाँको प्रतिफल दिन्छ ।

उनी भन्छन् – गरेपछि जे काममा पनि सफलता मिल्छ । निरन्तरता काम गरिरहनुपर्छ । उनको खेत र बारीमा अहिले आलु, बन्दा, टमाटर लगायतका तरकारीहरु रोपिएका छन् । काँक्रा, घिरौंला, लौका, करेला उत्पादन हुने तयारीमा छन् । उनी दैनिक चारदेखि २० हजार रुपैयाँको तरकारी सन्धिखर्क बजारमा बेच्छन् ।

उनले अहिले २५ रोपनी बारीमा तरकारी खेती गरेका छन् । अन्न खेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीमा लागेका उनी वर्षमा २० देखि २५ लाख रुपैयाँ आम्दानी गर्छन् । उनले गरेको देखासिकीबाट सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ । घोचेखोला, किमडाँडा र धरम्पानीमा उनको देखासिकी गरेर झण्डै १०० जनाले तरकारी खेती र गाईपालन गरिरहेका छन् । शुरुमा घरकै बारीमा तरकारी खेती गर्न शुरु गरेका बञ्जाडे अहिले १२ करोड रुपैयाँ भन्दा बढी सम्पत्तिको मालिक बन्न सकेका छन् । घोचेखोलामा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन हुन्छ ।

उनले काठमाडौँको कोटेश्वरमा ६ तले घर पनि बनाएका छन् । सन्धिखर्क नगरपालिकाको १, २, ८ र १० वडामा घर, घडेरी र खेत किनेका छन् । उनले झण्डै ४० रोपनी जग्गा किने सके । उनका दुइ छोरा पनि तरकारी खेतीमै लागेका छन् ।

गाईभैंसीको गोबर मल भन्दा पिसाब सबैभन्दा उत्तम भएको पत्ता लगाएपछि उनले तरकारीको दोब्बर जस्तै उत्पादन लिन सकेका छन् । “पशुको पिसाब सङ्कलन गर्न ट्याङ्की बनाएर सङ्कलन गर्ने र त्यसलाई तरकारीका बोटमै बेलाबेला हालेपछि रासायनिक र गोबर मलको आवश्यक्ता पर्दैन,” उनले भने । यो स्वास्थ्यका लागि हानिकारक पनि हुँदैन । उनी अहिले सिङ्गो जिल्लालाई नै कृषिको नमूना जिल्ला भनेर चिनाउने अभियानमा लागेका छन् । गाउबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिएर उनले धेरैलाई विदेश जानबाट रोकेका छन् । “युवा विदेशमा गएर जस्तोसुकै कठोर काम गर्न पछि पर्दैनन्,” उनले भने – “तर, आफनै स्वदेशमा काम गर्न हिचकिच्याउँछन् ।”

क्षेत्रीय कृषि निर्देशनालय पोखराबाट २०७४÷७५ को राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट उनी पुरस्कृत भइसकेका छन् । विसं २०६८ मा विकास सेवा रत्न पदक तत्कालीन राष्ट्रपति डा रामवरण यादवबाट पाएको उनले सुनाए । जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यलयबाट पनि उनले पुरस्कार पाइसकेका छन् ।

विगत स्मरण गर्दै उनले भने – म जागीरमै रहेको भए तलबले घरखर्च टार्नु बाहेक अरु केही हुने थिएन । माटोमै खेल्दा मेरो र गाउँलेको जीवनमा ठूलै परिवर्तन भएको छ । यसमा मलाई असाध्यै खुशी लागेको छ ।” सरकारले कृषि क्षेत्रलाई बेवास्ता गर्दा धेरै मुलुकका धेरै उत्पादनमूलक संभावनाहरु ओझेलमा परेको उनको अनुभव छ ।

तरकारी खेती गर्न गाउँका युवालाई उनले सिकाएका मात्र छैनन्, तरकारी खेतीको तालीम पनि दिइरहेका छन् । उनले घोचेखोला, किमडाँडा र धरमपानीमा पशु बिरामी भएमा घरघर गएर निःशुल्क उपचार गरिदिने गरेका छन् । पशुको उपचार गरेर उनी कुनै शुल्क लिँदैनन् । कसैले तरकारी खेती गर्न इच्छा गरे उनी झण्झट नमानी सिकाइदिन्छन् ।

जिल्ला कृषि समितिको सदस्य समेत रहेका उनी अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम ब्लकको अध्यक्ष बनेर डेढ वर्षदेखि काम गरिरहेका छन् । । वर्षात्को समयमा उनले उत्पादन गरेको तरकारी दुई वर्ष अघि भारतको नयाँ दिल्लीसम्म पुगेको थियो । उनले भने – “पहाडका तरकारी पोषिलो र स्वादिलो हुन्छ भन्दै सीमानाकाका व्यापारी घरमै आए र मेलै उब्जाएका तरकारी दिल्ली पुग्यो । त्यो बेला मलाई असाध्यै खुशी लाग्यो ।”

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्