Logo

तरुण दलमा अध्यक्ष र महासचिवबीचकाे विवाद चुलियाे



Spread the love

२५ भदौ, काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीच विवाद चुलिएको छ । रामचन्द्र पौडेल निकटका महासचिव शाहीले गरेको भनिएका दुई वटा निर्णयलाई सभापति शेरबहादुर देउवा निकटका अध्यक्ष बस्नेतले खारेज गरेको घोषणा गरेपछि विवादले उग्र रूप लिएकाे हाे ।

महासचिव शाहीले तरुण दल सिन्धुपाल्चोकका तत्कालीन उपाध्यक्ष सगुन श्रेष्ठको कारबाही फुकुवा र तरुण दल सप्तरीको अध्यक्षमा सीताप्रसाद यादवलाई नियुक्त गरेकाे निर्णयलाई अध्यक्ष बस्नेतले बुधवार सूचना जारी गर्दै शाहीले गरेको भनिएका निर्णय खारेज गरेको जानकारी दिएपछि विवाद चुलिएकाे छ ।

अध्यक्ष बस्नेतले बुधवार जारी गरेको सूचनामा लेखिएको छ, ‘महासचिव शाहीले आफ्नो पदीय काम, कर्तव्यविपरीत अनाधिकृत रूपमा गरेका निर्णय अस्वीकृत गरिन्छ ।’

अध्यक्ष बस्नेतले महासचिव शाहीलाई पदीय जिम्मेवारीका बारेमा सचेत गराएका छन् । महासचिव शाही मनोमानी ढङ्गले समानान्तर रूपमा चल्न थालेको भन्दै अध्यक्ष बस्नेतले बुधवार दिउँसो विज्ञप्ति जारी गरेर पदीय जिम्मेवारीका बारेमा सचेत गराएका हुन् ।

सप्तरीको अध्यक्षमा कसैलाई पनि नियुक्त नगरेको र सगुनको निष्कासन यथावत् रहेको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।

तीन वर्षे कार्यकाल आगामी कात्तिकमा सकिँदै गर्दा यसबीचमा मिलेर काम गरेको जस्तो देखिए पनि कार्यकाल सकिने बेला भने उनीहरूको विवाद सार्वजनिक हुनुलाई शंकाकाे रूपमा हेरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्