Logo

प्रथम व्यक्ति



Spread the love

प्रथम व्यक्ति

मध्याह्नको समय सकिन लागेको हुनु पर्छ । म असनको एक गल्ली भित्र छु। यहाँ आएर फुर्सदमा चिया पिउँछु अथवा भनौ फुर्सद निकालेर चिया पिउँछु। चिया पसले चाहिँ व्यस्त छ।

उसको भर्‍याङ मुनीको चिया पसलमा यस पल हरियो छायाँ परि रहेको छ। मानौँ कुनै चित्रकारले आज आकाशलाई हरियो ब्रसले चुमी दिएको होस वा असारले रोपिदियो होस् – आकाशको छातीमा धानका ब्याडहरू।

मृत्यु हो जो रङ्गी विरङ्गी भएर आउँछ।

-कहिले रातो स्याउ

-कहिले पहेँलो आँप

-खैरो बनकस

-निलो मान्छे

-कालो धुवा,

अनि खरानी भएर सकिन्छ। जीवन रङ्गी विरङ्गी भएर सकिन्छ !


हरियो रङ मलाई जीवन जस्तै सुन्दर लाग्छ । मेरो मान्नु हुन्छ भने , म त दावाका साथ भन्छु जीवनको रङ हरियो नै हुन्छ। मृत्यु हो जो रङ्गी विरङ्गी भएर आउँछ।

-कहिले रातो स्याउ

-कहिले पहेँलो आँप

-खैरो बनकस

-निलो मान्छे

-कालो धुवा,

अनि खरानी भएर सकिन्छ। जीवन रङ्गी विरङ्गी भएर सकिन्छ !

लौ! सिगरेट मगाउ न त ! ऊ छेउमा लुसुक्क बस्छे। ऊ सिगरेट समाउँछे, आफ्ना सिगरेट भन्दा मसिना औँलाहरूले। उसका नङहरू बेसार रङका छन् जसलाई ऊ कहिलेकाहीँ कालो नङ पोलिसले छोप्छे।

उसको छायाँ ऊ भन्दा मोटो देखिन्छ जमिनमा। उसको अनुहार र छायाँ उस्तै छ- सपाट । उसको जिन्दगी र छायाँ उस्तै छ- रहस्यमय र निक्खर कालो ।

ऊ अक्सर सिगरेट पिउन थालेकी छे-विवाह पश्चात्। मानौँ उसले सम्बन्ध धुवासँग जोडेकी हो। उसको पोइ कस्तो छ, मैले अहिले सम्म देखेको छैन, कस्तो होला? यो कुरा सोच्न नि बसेको छैन, न सोध्न नै अगाडी बढेको छु। के उसको पोइ आगो जस्तो छ? भए पनि नभए पनि ..मलाई के को खसखस ? आफ्नो सम्बन्धमा जलेर कोही खरानी होस वा धुवाँ मलाई के ?

मलाई त केवल धुवाँहरू मन पर्छन्। अक्सर म आकृतिहरू भेट्ने गर्छु धुवाँमा। जस्तै कुनै प्रेमी राजकुमार भागिरहेछ- सुन्दरी राजकुमारीको हत्या गरेर । घोडामा चढेर उडी रहेछन् खुट्टाहरू र खेलीरहेछन्- आकाशमा मान्छेका टाउकाहरू हिर्काएर भकुन्डो । कमिलाहरूको बस्तीमा साङ्लोले बाँधेर राखिएको छन्-  हजारौँ हात्तीहरू। मान्छेहरू चक्कुले काटेर पस्किरहेका छन् डिनरमा-  आफ्नै पिडुलाको मासु ! यस्तै यस्तै केही…

अक्सर म आकृतिहरू भेट्ने गर्छु धुवाँमा। जस्तै कुनै प्रेमी राजकुमार भागिरहेछ- सुन्दरी राजकुमारीको हत्या गरेर । घोडामा चढेर उडी रहेछन् खुट्टाहरू र खेलीरहेछन्- आकाशमा मान्छेका टाउकाहरू हिर्काएर भकुन्डो । कमिलाहरूको बस्तीमा साङ्लोले बाँधेर राखिएको छन्-  हजारौँ हात्तीहरू। मान्छेहरू चक्कुले काटेर पस्किरहेका छन् डिनरमा-  आफ्नै पिडुलाको मासु !


ऊ निभाउँछे चुरोट। के ऊ निभाउँदै छे आफूलाई? ऐष्ट्रेमा यो के को खरानी ? उसको की चुरोटको? के जलेका हरेक वस्तुको खरानी उस्त‌ै हुन्छ?

म अक्सर प्रश्न गर्न मन पराउँदिन उसको निजी जीवनका बारेमा। तर ऊ लगभग बोलिरहन्छे केवल आफ्नै बारेमा।

यस्तो सम्बन्ध छ हाम्रो-जस्तो सम्बन्ध नै छैन हाम्रो।
मलाई थाहा छ ,ऊ प्रेम गर्छे मलाई ।बिगत  ११ वर्ष देखी तर प्राप्तिको चाह कहिले राखिन । न कहिले केही मागी।
म बेहद घृणा गर्छु उसलाई तर उसका हरेक सुस्केरामा उसले मलाई पाइरही।

– “तिमी गुनासो किन गर्दैनौ हँ ? मलाई चाहिदा जहिले आउनु पर्छ तिमी ?´´

म उसका लागि कहिले आए र ? म मेरो लागि आउँछु। अनि के को गुनासो? हरेक दिन भरिन्छ मान्छे। तर के बोलेर मात्र पोखिन्छ र मान्छे? कति पटक आफूले भन्नु पर्ने कुरा अरूले भनिदिँदा अथवा लेखिदा पनि आफू हल्का भएको महसुस हुँदो रहेछ। अरू दुखेको देख्दा आफ्नो दुखाई कम हुँदैन भनु भने यो म झुट बोलेको हुनेछ। म आफूलाई सुन्न पुग्छु  ऊ सम्म। ऊ आफ्नो बारे जे बोल्छे, कतै न कतै त्यहाँ मेरो उपस्थिति हुन्छ। अनि अनुपस्थिति पनि एक उपस्थिति जस्तो ।

– “तर मलाई गुनासो छ तिमीसँग ?´´

हुन त आफूसँग जोडिएका हरेकलाई प्रेम गर्दछ मान्छे। तर जो ले जस्तो प्रेमको अपेक्षा गर्दछ त्यस्तै प्रेम दिन त सकिँदैन नि ? तर चाहेको जस्तो नपाउँदैमा पाएको केही होइन भन्न मिलेन। त्यसैले प्रेम गरेनौ नभनोस् । म अरू कोही प्रति आशक्त छु ।

-“ पर्दैन मलाई प्रेम गर्न। तिमी घृणा नै त सही रूपले निभाउन सक्दैनौ यार।(ऊ हाँस्छे बेसरी, उँधो मुन्टो लाएर फेरी अर्को चुरोट सल्काउँछे। उसका हात काँपिरहेका छन्) अलिक सहज बनिदेऊ अब ।´´

तिमी अब देखि न मुस्कुराई देऊ- हरेक पटक म रहस्यको दलदलमा फस्छु । र, तिमी मुस्कुराएको दिन म रात भर अनिदो रहन्छु।´´


सहज अर्थात् ?

-“खै थाह छैन ! तर उदाहरणका लागि मानौँ- तिमी अब देखि न मुस्कुराई देऊ- हरेक पटक म रहस्यको दलदलमा फस्छु । र, तिमी मुस्कुराएको दिन म रात भर अनिदो रहन्छु।´´

अब ओठहरूलाई मुस्कुराउन पनि निषेध गरिएको छ।

म बसेको सिटको छेउको खाली सिटमा यादहरू जबरजस्त खुट्टा गाडेर बसेका छन्। म नदेखेको जस्तो गर्न गर्धन उँभो तन्काएर बसेको छु।यादका झिङ्गे खुट्टाहरू मेरो कोखामा कोट्याई रहेछन्। ऊ जान्दछे ती याद उसलाई मन नपर्ने मान्छेका हुन। तर पनि ऊ केही गुनासो गर्दिन ।
उसलाई लाग्छ यी यादहरूले मलाई सिलिङमा झुन्डाउनेछन् – कुनै बिहान। त्यसैले ऊ रात भर निदाउँदिन । ऊ मेरो आत्महत्याको खबर सुन्ने प्रथम व्यक्ति हुन चाहन्छे। म चाहिँ यही यति सोच्दछु मृतकका गालामा बसेका आँसुका निशान कसले पढ्छ होला? र अन्तिम बुद बनेर को बग्दो हो उसका आँसुहरूबाट?

– “बग्न मन छ- बगाउन सक्छौ मलाई ?´´

बगाउन सक्छु तर थाम्न सक्दिन बहाव ! अनियन्त्रित भएर आँगन बगाउन सक्छु-घर भित्र पस्न सक्छु-के सुकुम्वासी हुन चाहन्छे ऊ ?

-“को चाहन्छ र नदीमा पसेर पहाडहरूलाई प्रेम गर्न ?- बगाऊ मलाई । बरु म तिमीलाई सुनाउने छु -चट्टानहरूमा ठोक्कीदाको अनुभव। – बालुवाहरूमा सोसीदाको तृप्तता। -बेघर हुँदाको सुन्दरता ।´´

एक्लोपन छ निरन्तरको बगाइमा। नदी सँगै बगेका मुढाहरू छेउ लाग्छन् । कसैको गर्धनमा चढेर चुलो सम्म पुग्छन्। माटो निथ्रिएर सतहमा ढुंगाको आलिङगनमा बेरिएर  लेउ जन्माउँछ। माछाहरू मर्छन् माझीको जादुमा अल्झेर। बगेकाहरूको आयु हुँदैन। जन्म बिर्सनु पर्छ। जवानी बिर्सनु पर्छ।आफ्ना बिर्सन पर्छ। नदीमा हामफाले पछि हर थोक, हर एक थोक छुट्छन्। थामिनु सौभाग्य हो ।

ऊ-“छुट्नु पनि सौभाग्य हो। जसरी बादलबाट बुँद छुट्छ र खेतले सास फेर्छ।- फुलबाट बास्ना छुट्छ र भमराले प्रेम बुझ्छ। छुट्नु पनि सौभाग्य हौ प्यारे ।´´

तर के ऊ परिचय विहीन बाच्न सक्छे ?

-“परिचयले मात्र कोही जिउँदो रहिरहन सक्छ र ?
समाहित भएर एक अस्तित्वमा अर्को अस्तित्व बाँच्दछ । एक्लो परिचय खोज्नु अस्तित्वविहीन हुनु हो ।
मान या नमान, हामी जीवनका दुई ध्रुवमा रहेर एक केन्द्र बाच्दछौ।´´

यति सुनेर, म त्यहाँबाट केही नभनी हिँडेको आजै हो ! तर फर्केर हेर्दा त्यो समय छुन नसक्ने गरी दूर पुगिसकेछ। यति लामो दुरीको जीवनमा कुनै कुरा गतिलोसँग गरिएको रहेछ भने त्यो हो – भाग्नु ।

जो र जेलाई भट्न सकिँदैनथ्यो आधा जिन्दगी त्यसकै पछाडि भागेर सकियो। जे र जो ले अँगालो देखाईरहेका छन् आधा जिन्दगी तिनै बाट भागेर सकियो ।

अहो! आजै जन्मेको मेरो आजै मृत्युु हुदैछ।

रसिक राज

०००

लेखकबाट थप:

फन्को

पुरानो साथी

राता पखेटा

गन्थन- गुन्द्रुक

ललितकलाबाट मास्टर इन फाइन आर्ट गरेका राज कविता, गजलका साथसाथै कथा लेखनमा सक्रिय छन् । आभा फर कृयटिभिटीका संस्थापक अध्यक्ष समेत रहेका राजको संयुक्त कविता संग्रह 'अनुहारको भिड' प्रकाशित छ !

प्रतिक्रिया दिनुहोस्