Logo

प्रधानमन्त्रीलाई भेटेरै कांग्रेसले जनायो विधेयकमाथि असन्तुष्टि



Spread the love

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानको मर्मविपरीत हुने गरी एकपछि अर्काे विधेयक ल्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुसँग कांग्रेसका शीर्ष नेताहरुले भेटेरै ध्यानाकर्षण गराएका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उनीहरुबीच पछिल्ला राजनीतिक घटनाका विषयका साथै संसदमा दर्ता भएका विधेयकबारे गम्भीर छलफल भएको भेटमा सहभागि नेताहरुले बताएका छन्।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षीबीच समसामयिक विषयमा गम्भीर छलफल भएको भेटमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए।

काङ्ग्रेस सभापति देउवाको आग्रहमा बैठक भएको हो । समसामयिक विषयमा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भएको मन्त्री ढकालले जानकारी दिए। झण्डै दुई घण्टा चलेको बैठकमा बाँके घटना, नागरिकता विधेयकलगायतका विषयमा छलफल भएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

नेपाली काङ्ग्रेस बाँके सभापति किरण कोइरालाको हात नेकपा कार्यकर्ताले भाँचेको भन्दै दोषीमाथि कारवाही हुनुपर्ने, नागरिकताको विधेयकमा संविधानका धारा ६ उल्लेखानुसार जानुपर्ने विषय उठान भएको उनले बताए।

नागरिकता विधेयकसँगै अरु विधेयक राष्ट्रिय सहमतिबाट टुङ्गो लगाउनुपर्ने र देशमा सुशासन कायम हुनुपर्ने काङ्ग्रेसले धारणा राखेको प्रवक्ता शर्माले बताए।

बैठकमा नेपाली काङ्ग्रेसबाट सभापति देउवा र वरिष्ठ नेता पोडेलसँगै महामन्त्री शशाङ्क कोइराला, प्रवक्ता शर्मालगायत नेताहरु र नेकपाका दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र मन्त्री ढकाल सहभागी थिए।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्