Logo

सल्यानी युवा डम्बर “साउथ एसिया युथ लिडरसिप अवार्ड” द्वारा सम्मानित



Spread the love

सुशील दर्नाल बङ्लादेश (ढाका), २ असोज (रासस) । यस वर्षको “साउथ एसिया युथ लिडरसिप अवार्ड” सल्यानका एक युवा उद्यमीले पाएका छन् । सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका-१ बाँझकाँडा (धानटाकुरा) मा स्थायी बसोबास गर्ने डम्बर शाहू उक्त अवार्डद्वारा सम्मानित भएका हुन् ।

हरेक वर्ष जस्तै यो वर्ष पनि युवाको क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिहरूलाई ‘साउथ एसियन युथ लिडरसीप अवार्ड–२०१९’ प्रदान गरिएको छ । ग्लोबल युथ पार्लियामेन्ट र ग्लोबल ल थिङकर सोसाइटीद्वारा बङ्लादेशको ढाकामा आयोजित ‘दोस्रो दक्षिण एसियाली युवा सम्मेलन–२०१९’ मा बङ्लादेशका स्वतन्त्रता तथा द्वन्द्व मामिलामन्त्री एकेयाम मोजाम्मेल हकले नेपालसहित श्रीलङ्का, अमेरिका, भुटान, पाकिस्तान र भारतलगायत दक्षिण एसियाली मुलुकका युवाहरूलाई सो अवार्ड प्रदान गरे ।

नेपालको तर्फबाट नेपाल वार एशोसियनका पूर्वकोषाध्यक्ष मोहन इङनाम, दलित महिला उत्थान सङ्घ नेपाल (एड्वान) की महासचिव विन्दु परियार, कर्णाली टेलिभिजन तथा नेशनल मिडिया एकेडेमी एण्ड रिसर्च सेन्टर अध्यक्ष डम्बर शाहु, देशान्तर साप्ताहिकका सम्पादक विष्णुप्रसाद देवकोटा, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक देवीप्रसाद अधिकारी, जनचेतना विकास समाज नेपालका कार्यक्रम संयोजक नगेन्द्रप्रसाद भट्ट, र बालगृहहरुको महासङ्घ नेपालकी अध्यक्ष दुर्गादेवी मैनाली लगायत विभिन्न देशसहित ३३ जना युवाहरूलाई सो अवार्ड प्रदान गरिएको हो ।

क्षेत्रीय एकतालाई थप बलियो बनाउँदै युवाहरूको सामूहिक नेतृत्व विकासका लागि अनुभव र अवसर आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने सम्मेलन हमज सम्पन्न भएको हो । सम्मेलनमा दक्षिण एसियाली मुलुकबाट करिब ३०० युवा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा दक्षिण एसियाली मुलुकमा रहेर विभिन्न विधामा सक्रिय युवाहरूलाई सम्मान गर्नुका साथै युवाहरूको नेतृत्व विकास, दिगो विकास, व्यावसायिक नेतृत्व, पर्यटन, शिक्षा, स्वास्थ्य, न्याय र प्रविधिलगायतका विषयमा बृहत् छलफल गरिएको थियो ।

पहिलो दक्षिण एसियाली युवा सम्मेलन सन् २०१७ मा काठमाडौँमा सम्पन्न भइसकेको छ भने तेस्रो सम्मेलन सन् २०२० मा श्रीलङ्कामा सम्पन्न गरिने भएको छ । युवाहरूको नेतृत्व विकास गर्ने उद्देश्यले सन् २०११ मा स्थापना गरिएको ग्लोबल युथ पार्लियामेन्टको उत्तर कोरिया, क्यानडा, ब्राजिल, बेलायत र इटलीलगायत विभिन्न ४३ देशमा शाखा स्थापना गरिएको छ ।

ग्लोबल युथ पार्लियामेन्टले ‘युवा सार्क सम्मेलन’, ‘ग्लोबल युथ पिस कन्फरेन्स’, ‘एसियन युथ एसेम्बली’ र ‘ग्लोबल युथ लिडरसीप समिट’ लगायत युवाको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । बङ्लादेशका स्वतन्त्रता तथा द्वन्द्व मामिलामन्त्री एकेयाम मोजाम्मेल हकले दोस्रो दक्षिण एसियाली युवा सम्मेलन बंगदादेशमा आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै क्षेत्रीय विकास र एकताका लागि युवाहरू एकीकृत हुँदैमा अगाडि बढ्नुपर्नेमा जोड दिए । त्यसका लागि बंगलादेशले सधैँ सहयोगी भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले दक्षिण एसियाली युवाहरूको सामूहिक वृद्धि विकासका लागि बलियो क्षेत्रीय एकता आवश्यक रहेको र त्यसका लागि यो सम्मेलन कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन् । सोसाइटीकी अध्यक्ष राओमन स्मीताले दिगो विकासको लक्ष्य प्राप्तिका लागि साथै दक्षिण एसियाली मुलुकहरुको क्षेत्रीय एकता, विकास, साझेदारी समुन्नतीका लागि युवाहरूको सामूहिक एकता र सहभागिता र सहकार्य अपरिहार्य रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्