Logo

शिक्षक लाइसेन्सको परीक्षा रद्द, कार्तिक २३ गते पुन परीक्षा हुने



Spread the love

१२ असोज, काठमाडौँ । माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षा अन्तर्गत शुक्रवार भएको अङ्ग्रेजी विषयको वस्तुगत तर्फको परीक्षा रद्द गरिएको छ ।

उक्त परीक्षा शिक्षक सेवा आयोगले कात्तिक २३ गते परीक्षा सञ्चालन गर्ने गरी रद्द गर्ने निर्णय गरेको हो । परीक्षा हुने समय र परीक्षा केन्द्र भने पछि सार्वजनिक गर्ने आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए । समयमै थाहा पाएकाले समाधान गरिएको दाबी गर्दै आयोगले सुरुमा परीक्षा रद्द नहुने बताएको थियो ।

तर उक्त घटनाले परीक्षाकै मर्यादामा आँच आएको भन्दै आलोचना बढे पछि आइतबार बसेको आयोगको बैठकले परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

आयोगको मुख्य कार्य नै मर्यादित र विश्वसनीय रूपमा परीक्षा सञ्चालन गर्नु तथा योग्य उम्मेदवार छनौट गर्नु रहेकोले त्यसमा सम्झौता गर्ने कुरै नआउने भन्दै अध्यक्ष गौतमले बैठकमा रहेका अन्य विकल्पलाई छाडेर रद्द गर्ने निर्णय गरेको बताए ।

आयोगको लापरवाहीका कारण उक्त विषयको समूह ‘घ’ को वस्तुगत तर्फको प्रश्न पत्रमै उत्तर समेत सार्वजनिक भएको थियो । उत्तरलाई बोल्ड अक्षरमा छापिएको फेला परे पश्चात् उक्त लापरवाही सार्वजनिक भएको हो ।

यसले आयोगको कार्य सम्पादन र परीक्षाको विश्वसनीयतामै प्रश्न उब्जेको थियो । घटनालाई कमजोरीका रूपमा स्विकारेता पनि आयोगले ‘समयमै थाहा पाएको र परीक्षा प्रतिस्पर्धात्मक नभएका कारण त्यसले त्यति ठुलो असर नहुने’ प्रारम्भिक अनुमान गरेको थियो । तर, शङ्का र कार्यसम्पादनमै प्रश्न उठ्नुले आयोगको समग्र मर्यादा कायम नहुने भए पछि रद्दको निर्णय गरेको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्