Logo

वुमन्स च्याम्पियन्स लिगमा चितवनको विजयी शुरुआत



Spread the love

२९ असोज, काठमाडाैँ – क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा आजदेखि शुरु भएको वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राईनोजले विजयी शुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा चितवनले क्याट क्वीन्स काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको हो । काठमाडौँले दिएको ९३ रनको सामान्य लक्ष्य चितवनले १८ दशमलव ३ ओभरमा पाँच विकेट गुमाएर भेटायो ।

चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रनको योगदान दिँदा प्यारी चौधरीले अविजित २४ रन जोडिन् । त्यस्तै रीतु कनोजियाले १४ तथा काजोल श्रेष्ठले ११ रन जोडिन् । बलिङतर्फ काठमाडौँकी ईश्वरी बिष्टले दुई विकेट हात पार्दा संगीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले समान एक÷एक विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा सबै विकेट गुमाइ ९२ रनमा समेटिएको थियो । काठमाडौँका लागि रश्मी चौलागाइँले सर्वाधिक ३४ रन जोडिन् भने सरस्वती चौधरीले १५ तथा कप्तान रुबिना क्षेत्री एक रनमा बाहिरिन् । काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा चितवनकी सन्तोषी चौधरीले तीन विकेट लिइन् भने रेखा रावल र कविता गौतमले समान दुई÷दुई विकेट लिएका थिए ।

आगामी कात्तिक ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न पाँच शहरका पाँच टोली ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइन्ट्स छन् । प्रतियोगिताका विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले टीभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स वुमनले जनही रु २५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्