Logo

ठोक्किए दुई जहाज



Spread the love

२२ कार्तिक, काठमाडाैँ – साँघुरो पार्किङ, त्यसमाथि एयरलाइन्सको जथाभावी पार्किङका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान अस्तव्यस्त बनेको छ । प्रतिस्पर्धी एयरलाइन्सको होडबाजी तथा व्यवस्थापनको लापरवाहीका कारण दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । त्यसको उदाहरणको रूपमा आजै दिउँसो दुई जहाज ठोक्किएको घटनालाई लिन सकिन्छ ।

आन्तरिक उडानका दुई ठूला वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्स र श्री एयरलाइन्सका जहाज आपसमा ठोक्किएका छन् । श्री एयरलाइन्सको सिआरजे ७०० जहाजले अवतरणपछि पार्किङतर्फ लैजाने क्रममा पार्किङमा रहेको यती एयरलाइन्सको एटिआर–७२ जहाजलाई ठक्कर दिएको हो ।

श्रीको जहाजको दायाँतर्फको पखेटाले रोकिरहेको यतीको जहाजको पछाडितिर ठक्कर दिएको थियो । सामान्य मर्मतपछि जहाज सञ्चालनमा आउने विमानस्थलले जनाएको छ ।

यो घटनालाई एयरलाइन्सका सञ्चालकहरु साँघुरो व्यवस्थापनले गर्दा समस्या आएको बताउँछन् । तर, विमानस्थलको प्रशासनले जहाजको चाप बढे पनि उडान व्यवस्थापनलाई सहज र प्रभावकारी बनाइएको जिकिर गरेको छ ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले साँघुरो पार्किङमा जथाभावी जहाज पार्किङ गरेका कारण विमानस्थलको आन्तरिक उडान अव्यवस्थित बनेको बताए ।

विमानस्थल र एयरलाइन्सका प्राविधिकले ठोक्किएको जहाजको निरीक्षण गरी आवश्यक मर्मत गरिसकेको बताइएको छ ।

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले श्रीएयरको जहाजले अवतरणपछि पार्किङमा लैजाने क्रममा पार्किङमै रहेको यतीको जहाजको पछाडी सामान्य ठक्कर दिएको र मर्मतपछि सञ्चालनमा आउने बताए ।

विमानस्थलको आन्तरिकतर्फ पार्किङमा १८ देखि २० वटा जहाजको क्षमता रहे पनि ३० वटाभन्दा बढी जहाज पार्किङ गरिँदै आइएको छ । विमानस्थलको चाप न्यूनीकरणका लागि क्षेत्रीय विमानस्थलमा जहाज रहने विमानस्थलले निर्णय गरे पनि त्यो प्रभावकारी लागू भएको छैन । आन्तरिकतर्फ बिहान ६ बजेदेखि राति नौ बजेसम्म उडान हुने गरेको छ । आन्तरिकमा अहिले १० हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्