Logo

शरिफको विदेशमा उपचार अझै अन्यौलमै



Spread the love

२९ कात्तिक, इस्लामाबाद – स्वास्थ्य अवस्था नाजूक रहेका भनिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको उपचारका लागि विदेश जाने प्रयासमा थप जटिलता उत्पन्न भएको छ ।

पूर्व प्रधानमन्त्री शरिफ थप उपचारका लागि बेलायत जान चाहेका छन् । पाकिस्तानी अदालतले शरिफलाई विदेशमा उपचार गर्न जमानत दिएको थियो । नवाफ शरिफ भ्रष्टाचारको आरोपमा जेलमा थिए ।

पाकिस्तान सरकारले यसअघि अदालतको आदेशलाई स्वीकार गर्दै विदेश भ्रमणका लागि प्रतिबन्ध नलगाउने घोषणा गरेको थियो ।

तर, यसै साता प्रधानमन्त्री इमरान खानको सरकारले नवाज शरिफको यात्राका सम्बन्धमा नयाँ शर्त अघि सारेको छ । इमरान सरकारले नवाजले करिब सात अर्ब पाकिस्तानी रुपैया अर्थात् करिब ४ करोड ५० लाख अमेरिकी डलर सरकारी कोषमा जम्मा गर्नुपर्ने पूर्वशर्त राखेको छ ।

सरकारको उक्त आदेशलाई नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले तत्कालै अस्वीकार गरेको छ । नवाज शरिफका निजी चिकित्सक अदनान खानले शुक्रबार ट्वीट गर्दै पूर्व प्रधानमन्त्री शरिफको स्वास्थ्य अवस्था अत्यन्त नाजूक रहेकाले तत्कालै उपचारको व्यवस्था नभए जेसुकै हुनसक्ने बताएका छन् ।

पिएमएल–एन पार्टीका नेता शाहबाज शरिफले उपचारमा ढिलाई भएर पूर्व प्रधानमन्त्री शरिफलाई तलमाथि केही भएमा त्यसको जिम्मेवारी प्रधानमन्त्री खानले लिनुपर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्