Logo

महिला क्रिकेटमा बङ्गलादेश र श्रीलङ्का विजयी



Spread the love

१८ मंसिर, पोखरा – तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत बुधबार पोखरामा भएको महिला क्रिकेट प्रतियोगितामा बङ्गलादेश र श्रीलङ्का विजयी भएका छन् ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बिहान भएको खेलमा बङ्गलादेशले नेपाललाई १० विकेटले पराजित गरेको हो भने श्रीलङ्काले माल्दिभ्समाथि २४९ रनको फराकिलो जित दर्ता गरायो । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा केवल ५० रन जोडेको थियो । नेपालका तर्फबाट सोनु खड्काले सर्वाधिक १२ रन र इन्दु बर्माले १० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

नेपालकी अप्सरा वेगमले पाँच, सीता रानामगरले तीन, ममता चौधरीले एक रन जोडिन् भने अन्य खेलाडीले खाता खोल्न सकेनन् । प्लेयर अफ द म्याच रबेया खानले नेपालको महत्वपूर्ण चार विकेट लिएकी थिइन् । त्यस्तै जहनारा आलमले दुई, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान एक÷एक विकेट लिन सफल भएका थिए ।

प्रतियोगिताअन्तर्गत ५१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बङ्गलादेशले कुनै पनि विकेट नगुमाई ७.४ ओभरमै जित निकालेको थियो भने बङ्गलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले २३ रनको योगदान दिए । २२ बलको सामना गरेकी रहमानले तीन चौका तथा २४ बल सामना गरेकी खातुनले चार चौका प्रहार गरेकी थिइन् ।

आजै भएको अर्को खेलमा श्रीलङ्काले कमजोर माल्दिभ्समाथि २२४ रनको जित निकालेको हो । पहिला ब्याटिङ गर्दै श्रीलङ्काले दुई विकेटको क्षतिमा २० ओभरमा २७९ रनको विशाल योगफल तयार पारेको थियो ।

श्रीलङ्काको तर्फबाट प्लेयर अफ द म्याच घोषित हर्षिता माधवीले अविजित १०६ रनको विस्फोटक पारी खेलिन् । उनले ४७ बलमा तीन छक्का र १५ चौका प्रहार गर्न सफल भएकी थिइन । शतकको नजिकै पुगेर पनि शतकबाट चुकेकी अर्की खेलाडी सत्या संदिपनीले अविजित ९६ रन बनाइन् । उनले ४८ बलमा तीन छक्का ११ चौका प्रहार गरेकी थिइन् ।

माल्दिभ्सको पारी भने मात्रै १४.५ ओभरमा ३० रनमै समेटिएको थियो । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो आँकडाको योगफल जोड्नसमेत सकेनन् । उसका लागि सजा फतिमाथले ६, जुना मारिया र हप्सा अब्दुल्लाले पाँच÷पाँच रन बनाएका थिए । बङ्गलादेशको वलिङतर्फ अज अनलीले तीन, संदिपनीले दुई तथा थारिका सेवान्डी, निसन्साला र थिमासिनीले समान एक÷एक विकेट लिएका थिए ।

यो सँगै राउण्ड रोविन लिगका सबै टिमले दुई÷दुई खेल खेलेका छन् । दुईमा दुई जित निकालेको बङ्गलादेश चार अङ्कसहित शीर्ष स्थानमा छ भने एक खेलमा जित र एकमा हार व्यहोरेको नेपाल दुई अङ्कसहित दोस्रो स्थानमा रहेको छ । समान दुई अङ्क जोडे पनि श्रीलङ्का तेस्रो स्थानमा छ भने कुनै पनि जित ननिकालेको माल्दिभ्स अन्तिममा रहेको छ । प्रतियोगिताअन्तर्गत भोलि बिहान ११ बजेदेखि शुरु हुने खेलमा बङ्गलादेश र माल्दिभ्स आमने–सामने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्