Logo

१३ औं साग: कप्तान ज्ञानेन्द्रको विष्फोटक शतकमा भुटानमाथि नेपालको कीर्तिमानी जित



Spread the love

१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

यो अन्तर टि ट्वान्टीमा नेपालले हात पारेको सर्वाधिक ठूलो रन अन्तरको जित हो । २ सय ३७ रनको विशाल विजयी लक्ष्य पछ्याएको भुटान २० ओभरमा ६ विकेटको नोक्सानीमा ९५ रनमै समेटियो ।

भुटानका लागि मिक्यो दोर्जेले २३ बलमा ४ चौका सहित सर्वाधिक २७ रनको योगदान दिए । ओपनर तेनजिङले ९, तोब्देन सिन्गे ११, जिग्मी सिन्जे ८ र सोनमले १५ रन जोडे । नेपालका पारस खड्काले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । पवन सरार्फ, ललित नारायण राजवंशी र करण केसीले १-१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको नोक्सानीमा २ सय ३६ रन बनायो । टि ट्वान्टी क्रिकेटमा नेपालले बनाएको यो हालसम्मकै उच्च योगफल हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५३ बलमा आफ्नो टि ट्वान्टी आई करिअरको पहिलो शतक प्रहार गरे ।

नेपालको इनिङ सुरुवात गरेका पूर्व कप्तान पारस र ज्ञानेन्द्र भुटानी बलरहरु सामु हाबी रहे । पारस २८ बलमा ५७ रन बनाएर आउट भए । तेस्रो नम्बरमा पठाइएका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ६ रन मात्रै बनाउन सके । त्यसपछि दिपेन्द्र सिंह ऐरीले ज्ञानेन्द्रलाई बलियो साथ दिएका थिए । ज्ञानेन्द्र ५५ बलमा १ सय ७ रन बनाएर आउट भए । ऐरीले २७ बलमा २ छक्का र ४ चौकासहित ४५ रनमा अविजित रहे । पारसको टि ट्वान्टी आईमा यो चौथो अर्ध शतक हो । आरिफ शेख ४ रनमा नट आउट रहे । भुटानका कर्मा दोर्जेले २ विकेट हात पारे । नेपालले तेस्रो खेलमा शुक्रवार माल्दिभ्ससँग खेल्ले छ ।

प्रतिक्रिया दिनुहोस्