Logo

पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण



Spread the love

२३ मंसिर, पोखरा – तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत पोखरामा सम्पन्न पुरुष ह्याण्डबलमा पाकिस्तानले स्वर्ण पदक जितेको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी भारतलाई ३०–२९ गोल गर्दै पाकिस्तानले स्वर्ण पदक हात पारेको हो । भारतले भने उपविजेता बन्दै रजत पदक जितेको छ । बङ्गलादेशमा भएको ११औँ सागबाट समावेश भएको ह्याण्डबलमा पाकिस्तानले पुरुषतर्फको पहिलो स्वर्ण जितेको थियो । भारतकै गुहावटीमा भएको १२औँ सागमा भने भारतले स्वर्ण जितेको थियो । पाकिस्तान उपविजेता बन्दै रजत पदकमा सीमित बनेको थियो ।

विजेता पाकिस्तानका लागि मोहम्मद मुजामल हुसेनले सर्वाधिक ६ गोलको योगदान दिए । हजरत हुसेनले टोलीका लागि ५ गोल थपे । इमरान खानले टोलीका लागि ४ गोल जोडे । असिम सइद र मोहम्मद जुबेरले समान ३÷३ गोलको योगदान गरे । नासिर हुसेन र मोहम्मद सहिद बसिरले समान २÷२ गोलको थपे । नामिद उर रहमान र असिफ हायातले समान १÷१ गोल गरे ।

भारतका नवीन सिंहले सर्वाधिक ८ गोलको योगदान दिए । दीपक अहलावत, अंकित र रमेश चन्दले समान ५÷५ गोल जोडे । दिनेशले टोलीका लागि ४ गोल जोडे । करमजित सिंह र ह्याप्पीले टोलीका लागि समान १÷१ गोल थपे ।

प्रतिक्रिया दिनुहोस्