Logo

पीपीएल क्रिकेटमा काठमाडौँद्वारा विराटनगर पराजित



Spread the love

५ पुस, पोखरा – पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पिपिएल) टी २० क्रिकेट प्रतियोगिताको आजको खेलमा काठमाडौँ गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज टस जितेर व्याटिङ रोजेको काठमाडौँले पूरै ओभर खेल्दै पाँच विकेट गुमाएर १५९ रनको योगफल तयार पारेको थियो । जवाफी व्याटिङमा आएको विराटनगरले अन्तिम ओभरमा दुई बल बाँकी छँदा पूरै विकेट गुमाएर १२३ रन मात्र जोड्न सफल भयो ।

चार खेल खेलको काठमाडौँ दुई खेलमा जीत तथा दुईमा हारसँगै ४ अङ्क जोडेर समूहमा दोस्रो स्थानमा रहन सफल भयो । एक खेल कम खेलेको बुटवलकोसमेत समान चार अङ्क रहे पनि रनरेटमा काठमाडौँ अघि छ ।

काठमाडौँ पहिलो खेलमा पोखरा पल्टनसँग नौ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बुटवल ब्लास्टरसँग सुपर ओभरमा पराजित भएको थियो भने तेस्रो खेलमा धनगढीलाई पराजित गरेको थियो ।

विराटनगर पहिलो खेलमा धनगढीसँग पराजित भएको थियो भने दोस्रो खेलमा पोखरालाई पराजित गर्न सफल भएको थियो । इनिङ्सको एक दशमलव चार ओभरमा शुरुआती व्याट्सम्यान मुहमद जैद आलम र सुनिल धमला मात्र चार रन जोडेर बाहिरिपछि विराटनगरले खराब शुरुआत गर्यो । तर मध्यक्रममा व्याटिङ सम्हाल्न आउनुभएका नोमान खान र पुनित मेहराले सातौँ विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङमाथि उकासे पनि जीतका लागि पर्याप्त हुन सकेन ।

मेहराले ३१ बलमा ५३ रन जोड्दै अर्धशतक पूरा गर्नुभएको थियो भने खानले २६ बलमा २५ रन जोडे । त्यस्तै तेस्रो क्रममा व्याटिङमा आएका कप्तान प्रदीपसिंह ऐरीले २७ बलमा २९ रन जोडे पनि अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन लिन सकेनन् ।

काठमाडौँका सुवोध भाटीले तीन तथा अमर रौटेला र वसन्त रेग्मीले समान दुई र अमृत भट्टराई र सुशान भारीले एक÷एक विकेट लिएका थिए । काठमाडौँका शुरुआती व्याट्सम्यान गौरव तमोर पहिलो ओभरको अन्तिम बलमा खाता नै नखोली पेभिलिएन फर्किए पनि कप्तान ज्ञानेन्द्र मल्ल र जयकृष्ण कोल्शावालाले टोलीका लागि महत्वपूर्ण ६६ रनको साझेदारी गर्दै टोलीका लागि सम्मानजनक स्कोर तयार गर्न योगदान दिएका थिए ।

पुनित मेहराको बलमा शाह आलमबाट क्याच आउट हुनुअघि कोल्सावालाले ४३ बलमा ५५ रन अर्धशतक तयार गरेका थिए । मल्लले तीन चौका र दुई छक्कासहित ३३ बलमा ४५ रन जोडेका थिए । विराटनगरका मेहराले दुई तथा किशोर महतो, जीतेन्द्र मुखिया र नोमान खानले एक÷ एक विकेट लिन सफल भए ।

प्रतिक्रिया दिनुहोस्