Logo

पिपिएल क्रिकेट : बुटवल दोस्रो चरणमा



Spread the love

६ पुस, पोखरा – पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पिपिएल) टी २० क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्स अघिल्लो चरणमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज प्रतियोगिताको आफ्नो चौथो खेलमा एक्सपर्ट धनगढी ब्लुजलाई सात विकेटले पराजित गरेसँगै बुटवलले ‘प्लेअफ’मा स्थान सुरक्षित गरेको हो । आजको पहिलो खेलमा विराटनगर टाइटन्सलाई पराजित गरेको चितवनले समेत प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । लिग चरणको अन्तिम खेलबाट समूह विजेता तथा प्लेअफ खेल्ने दुई टोलीको टुङ्गो लाग्नेछ ।

समूह चरणमा सबै टोलीको चार खेल सकिँदा चितवन आठ अङ्क जोडेर समूहको शीर्ष स्थानमा छ भने छ अङ्कसहित बुटवल दोस्रो तथा चार अङ्कसहित काठमाडौँ गोल्डेन वारियर्स तेस्रो स्थानमा छन् । विराटनगर टाइटन्स, पोखरा पल्टन र धनगढीको समान दुई अङ्क रहेको छ । प्रतियोगितामा सहभागी छ वटै टोलीले अव लिग चरणमा एक÷एक खेल खेल्न बाँकी छ ।

खेलमा टस जितेर बुटवलले फिल्डिङ रोजेपछि ब्याटिङ शुरुआत गरेको धनगढीले १९ दशमलव पाँच ओभरमा ‘अल आउट’ हुँदै १४० को लक्ष्य खडा गरेको थियो । विजयी लक्ष्य पछ््याउने क्रममा बुटवललाई एक खेल अगावै अघिल्लो चरणमा लैजाने क्रममा अफ्ताबुदिन अहमद र हर्ष टङ्कको आक्रामक ब्याटिङको मद्दतले १६ दशमलव चार ओभरमा मात्र तीन विकेट गुमाएर लक्ष्य भेट्टायो ।

प्रारम्भिक ब्याट्सम्यान अहमदले २३ बलमा सात छक्का र एक चौका प्रहार गर्दै अद्र्यशतकीय पारी खेल्दै टोलीका लागि सुखद शुरुआत गरेका थिए । त्यस्तै अर्का ब्याट्सम्यान शङ्कर रानाले पहिलो विकेटका लागि अहमदसँग ५३ रनको साझेदारी गर्दै ३१ बलमा २५ रन जोडे भने हर्ष टङ्कलेसमेत आक्रामक ब्याटिङ गर्दै २१ बलमा ४० रनको योगदान दिए । अनिल खरेलले दुई तथा दीपक पुनियाँले एक विकेट लिए ।

धनगढीको महत्वपूर्ण चार विकेट लिँदै आफ्नो तीन दशमलव पाँच ओभर बलिङमा मात्र २६ रन खर्चिएका बुटवलका अविनाश खेलको ‘म्यान अफ दी म्याच’ चुनिए । ललित भण्डारीले तीन तथा सोमपाल कामीले एक विकेट लिए । यसअघि धनगढीका कप्तान दीपेन्द्रसिँह ऐरीले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जीत दिलाउन सकेनन् । तेस्रो क्रममा ब्याटिङ सम्हाल्न आएका उनले ४५ बलमा चार चौका र दुई छक्कासहित ६१ रन बनाएका थिए ।

सन्दिप जोराले ३२ बलमा ३९ रन तथा शौरभ खनालले आठ बलमा १० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । प्रतियोगिता अन्तर्गत सोमबार पोखरा पल्टन र धनगढीबीच खेल हुने आयोजकले जनाएको छ । अङ्क तालिकाको पुछारमा रहेका दुवै टोलीलाई अघिल्लो चरण प्रवेशको गणितीय सम्भावना कायमै राख्नका लागि समेत जीतको विकल्प रहने छैन ।

प्रतिक्रिया दिनुहोस्