Logo

थ्री स्टारद्वारा पुलिस पराजित



Spread the love

७ पुस, काठमाडाैँ – राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्री स्टार क्लबले पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

थ्री स्टारको जितमा सुशील राईले निर्णायक गोल गरे । उनले खेलको ८४औँ मिनेटमा सुशन श्रेष्ठको क्रसमा गोल गरेका थिए । जितसँगै थ्री स्टारले दुई खेलमा चार अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लको छ ।

त्यस्तै ६ अङ्क जोडेको मनाङ मस्र्याङ्दी क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा थ्री स्टार जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यता पुलिसको भने यो पहिलो हार हो । पहिलो खेलमा पुलिस हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । खेलपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले यस खेलको नतिजामा आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

त्यस्तै पुलिसका प्रशिक्षक अनन्त थापाले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य बनेको बताए । खेलमा थ्री स्टारका सुशील राई म्यान अफ द म्याच घोषित भए ।

प्रतिक्रिया दिनुहोस्