Logo

कृषकलाई किबीखेती गर्न सिकाइँदै



Spread the love

१२ पुस, पाल्पा – पाल्पाको पूर्वखोलाका कृषकलाई किबीखेती गर्न सिकाइएको छ । पूर्वखोला गाउँपालिका वडा नम्बर २ जल्पा ढोलीमारा साठिकोल र मैदानलाई किबीको मुख्य क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले त्यस क्षेत्रका कृषकलाई खेती गर्ने तरिका, रोगकीराको निवारण र उत्पादन बढी लिन सकिने विषयमा सीप सिकाइएको हो । किबीखेती गर्न इच्छुक ४० कृषकले तालीम लिएका छन् ।

गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले किबीखेतीबाट प्रशस्त आम्दानी लिन सकिने र स्वास्थ्यमा समेत फाइदा पुग्ने हुँदा यसप्रति ध्यान दिएर लाग्न आग्रह गरे । अध्यक्ष थापाका अनुसार पहिलो पटक गाउँपालिकाले परीक्षणका रुपमा एक सय किलो किबीको बीउ पनि निःशुल्क प्रदान गरेको छ ।

कृषिविज्ञ कमानसिं थापाले किबीमा निकै पोषिलो औषधियुक्त गुण भएकाले यसको माग बढिरहेको बताए । उनका अनुसार यसको नियमित प्रयोग गर्नाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, भिटामिन सी प्राप्त हुने र खनिजको मात्रा पूरा हुने हुन्छ ।

किबीको बिरुवा रोपिएको दुईदेखि तीन वर्षमा उत्पादन दिन सक्ने र एउटा बोटबाट करीब ४० देखि ६० वर्षसम्म उत्पादन लिन सकिने कृषि शाखा संयोजक सन्तोष कँंडेलले जानकारी दिए । एउटा बोटले ५० देखि एक सय केजीसम्म फल दिने भएकाले यसबाट राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।

नेपालमा किबी प्रतिकेजी रु चार सयदेखि आठ सयसम्म बिक्री हुने गरेको छ । मनग्य खेती गरेर विदेशमा निर्यात गर्न सके प्रशस्त आम्दानी गर्न सकिन्छ । नेपालको भूबनोटअनुसार समुद्री सतहदेखि एक हजार दुई सयबाट दुई हजार चार सय मिटरसम्मको उचाइमा किबीखेती गर्न सकिने कृषिविज्ञ बताउँछन् । यस वर्ष त्यस क्षेत्रमा परीक्षणका रुपमा खेती गरिने र राम्रो उत्पादन लिन सके थप क्षेत्र विस्तार गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्