Logo

न्यू डायमण्ड होङ्गवान्जी महिला भलिबल हुने



Spread the love

१३ पुस, काठमाडाैँ – न्यू डायमण्ड होङ्गवान्जी कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता काठमाडौँमा हुने भएको छ । सो प्रतियोगिताको तेस्रो संस्करण यही पुस २३ देखि २६ गतेसम्म सञ्चालन हुनेछ ।

आयोजक न्यू डाइमण्ड स्पोर्ट्स क्लबले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता रहने जानकारी दिएको हो । सहभागी हुने टोलीको टुङ्गो केही दिनमा लाग्ने क्लबका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कुमार राईले बताए । प्रतियोगिताका खेलहरु नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा हुने छ । विजेताले रु चार लाख १०१, उपविजेताले रु तीन लाख १०१, तेस्रो हुनेले रु एक लाख ५१ हजार १०१ तथा चौथोले रु ५१ हजार १०१ पुरस्कार प्राप्त गर्नेछन् ।

गत वर्ष विजेताले रु तीन लाख एक हजार पुरस्कार प्राप्त गरेको थियो । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु २१ हजार १०० पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकलाई रु सात हजार १०१ प्रदान गरिने संयोजक राईले जानकारी दिए । उक्त प्रतियोगिता सञ्चालन गर्न होङ्गवान्जी बौद्ध समाजले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको पहिलो संस्करणको उपाधि आयोजक न्यू डायमन्ड तथा दोस्रो संस्करण सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्