Logo

भ्रमण वर्ष लक्षित सांस्कृतिक कार्यक्रम



Spread the love

१४ पुस, काठमाडाैँ – काठमाडौँ महानगरपालिका–१५ ले नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस १६ देखि २२ गतेसम्म स्वयम्भूमा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रमा आउने पर्यटकलाई आकर्षित गर्न मुलुकका सबै जाति समुदायका नृत्य, संस्कृति, वेषभूषाको प्रतिनिधित्व हुने गरी उक्त कार्यक्रम गर्न लागिएको हो ।

सेना, सशस्त्र, प्रहरी, राष्ट्रिय कलाकारको सहभागितामा प्रत्येक दिन गरिने कार्यक्रममा लोकदोहोरी, खाना महोत्सव, स्थानीय सम्पदाका फोटो प्रदर्शनी, हस्तकला प्रदर्शनी, झाँकी प्रदर्शनी मुख्य आकर्षणका रुपमा रहने वडाध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिए । भ्रमण वर्षको प्रचारका लागि सरसफाइ, स्थानीय विकास, पूर्वाधार निर्माणलगायत कार्यलाई प्राथमिकतामा राखेको वडाले विदेशी पाहुनालाई राम्रो आतिथ्य तथा सत्कार गर्नका लागि स्थानीयवासीलाई आग्रह गरेको छ ।

स्थानीय होटल तथा पसलमा सेवा लिन वा सामग्री किन्नका लागि आउने पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न र सामग्रीको मूल्यमा एकरुपता कायम राख्न वडाले सरोकार पक्षसँग छलफल गरेको छ । सप्ताहव्यापी रूपमा गर्न लागिएको सो कार्यक्रम सम्पन्न गर्नका लागि रु २० लाख विनियोजन गरिएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि पर्यटकीयस्थलको प्रचारका साथै थप पर्यटकीय गन्तव्यको खोजी गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्