Logo

राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा मनाउने



Spread the love

१४ पुस, भक्तपुर – सरकारले २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा मनाउने भएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

आगामी माघ २ गते भक्तपुरको दरबार क्षेत्रमा २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यरूपमा आयोजना गर्ने र कार्यक्रमकोे जिम्मेवारी भक्तपुर नगरपालिकालाई दिने निर्णय गरेको नगर प्रमुख प्रजापतिले बताए ।

गृहमन्त्री थापाले भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि भूकम्पबाट क्षति पुगेका सम्पदा र भग्नावशेष अझ पुनःनिर्माण नभएकामा चिन्ता व्यक्त गर्दै सम्बन्धित सरोकारवालासँग समन्वय गरी जनसमुदायलाई जनचेतना अभिवृद्धि गर्ने गरी भव्य र प्रभावकारी रूपमा दिवस मनाउने जिम्मेवारी भक्तपुर नगरपालिकालाई दिएको बताए ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगर २०७२ सालको भूकम्पले बढी क्षति पुगेको ठाउँ भएको बताउँदै ११६ वटाभन्दा बढी क्षतिग्रस्त सम्पदामध्ये हाल नगरपालिकाले ९१ वटा सम्पदा पुनःनिर्माणको काम सम्पन्न गरिसकेको बताए । उनले सम्पदा बस्तीका घर पुरानै शैलीमा निर्माण गराउने नीति बनाउँदै अनुदानको व्यवस्था गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्