Logo

महानगर कप भलिबल : महिलातर्फ चन्द्रागिरि र पुरुषतर्फ ललितपुरलाई उपाधि



Spread the love

२६ पुस, काठमाडाैँ – महानगर कप भलिबलमा महिलातर्फको उपाधि चन्द्रागिरि नगरपालिका तथा पुरुषतर्फको उपाधि ललितपुर महानगरपालिकाले जितेको छ ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनल खेलमा आयोजक ललितपुर महानगरपालिकालाई ३–२ सेटले हराउँदै चन्द्रागिरिले महिला भलिबलको उपाधि जितेको हो भने चौतारा नगरपालिकालाई ३–१ सेटले हराउँदै आयोजक ललितपुरले पुरुषतर्फको उपाधि हात पारेको हो । महिला भलिबलको फाइनलमा चन्द्रागिरिले ललितपुरमाथि २३–२५, २५–१९, २५–१८, २१–२५ र १५–९ अङ्कको जित निकाल्दै रु दुई लाख पुरस्कार प्राप्त गर्यो । उपविजेता ललितपुरले रु एक लाख तथा तेस्रो भएको गोकर्णेश्वरले रु ५० हजार पुरस्कार पायो ।

यस्तै पुरुष फाइनलमा ललितपुर महानगरपालिकाले चौतारालाई २३–२५, २५–२०, २५–२१ र २५–१२ अङ्कले हराउँदै रु दुई लाख पुरस्कार पायो । उपविजेता चौताराले रु एक लाख तथा तेस्रो हुँदै महालक्ष्मीले रु ५० हजार पुरस्कार प्राप्त गर्यो । यसैगरी पुरुष विधामा ललितपुरका हरि पाण्डेले सर्वोत्कृष्ट खेलाडी घोषित भइ रु १० हजार पुरस्कार प्राप्त गर्नुभएको प्रतियोगिता प्रचारप्रसार उपसमितिकी संयोजक निलम बज्राचार्यले जानकारी दिए । उत्कृष्ट स्पाइकर ललितपुरका योगेन्द्र गुरुङ, महालक्ष्मीका शरद रावल उत्कृष्ट ब्लकर, महालक्ष्मीकै हरिश बुढाथोकी र आयुष खड्का क्रमशः उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सर्वर भए । चौताराका विश्वास आले उत्कृष्ट सेटर तथा ललितपुरका मनोज खड्का उत्कृष्ट प्रशिक्षक छानिए । उनिहरुले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

यसैगरी महिलातर्फ चन्द्रागिरिकी झरना श्रेष्ठलाई सर्वोत्कृष्ट खेलाडी घोषित भई रु १० हजार पुरस्कार प्राप्त गरे । महिला विधामा ललितपुरकी सर्मिला नेपाली उत्कृष्ट स्पाइकर, ललितपुरकै पवित्रा सेरपाली उत्कृष्ट ब्लकर घोषित भए । चन्द्रागिरिकी प्रतिक्षा गुरुङ उत्कृष्ट सेटर र पनामिका राई उत्कृष्ट सर्भर छनोट भइन् । ललितपुरकी विमला सुनुवार उत्कृष्ट डिफेण्डर तथा चन्द्रागिरिका कुमार राई उत्कृष्ट प्रशिक्षक घोषित भए । उनिहरुले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

ललितपुर महानगरपालिकाले आफ्नो १०१ औँ स्थापना दिवसका अवसरमा प्रदेश नं ३ स्तरीय अन्तर नगरपालिका पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी थिए । विजयी खेलाडी तथा प्रशिक्षकलाई ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्